जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार १२:१५

एमाले अध्यक्षको आवास सम्बन्धमा महेश बस्नेतको प्रतिक्रिया : केपी ओली जोगी होइन, सक्षम राजनीतिक शक्तिका नेता 


काठमाडौं, मंसिर २१ । नेकपा (एमाले) पोलिटब्युराे सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आवासबारे पछिल्ला टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उहाँलाई ‘जोगी’को रूपमा चित्रण वा व्यङ्ग्य नगर्न चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बस्नेतले ओली नेपाली राजनीतिका सक्षम र प्रभावशाली नेता  भएको नबिर्सन आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीका लागि ‘२/३ कोठाको घर बनाइन्छ’ भन्ने अभिव्यक्ति कतिपयले ‘अपेक्षा’का रूपमा अघि सारे पनि त्यो अव्यवहारिक रहेको र व्यङ्ग्य गर्नेहरूको आफ्नो जीवनशैली र बसाइँबाट जनताले मूल्याङ्कन गरिरहेको बस्नेतको भनाइ छ। उहाँले अध्यक्ष ओलीको नयाँ आवास उहाँको जनसम्पर्क, जिम्मेवारी र पार्टीको प्रभावअनुसार नै निर्माण हुने स्पष्ट गर्नु भएकाे छ।

बस्नेतका अनुसार आवास निर्माणमा सीमित समर्थक तथा शुभेच्छुकको सहयोग रहनेछ। ओलीकाे आवास निर्माणमा विशेषतः भक्तपुरवासी तथा गुण्डु क्षेत्रका स्थानीयको उल्लेखनीय भूमिका रहने उहाँले बताउनुभएको छ। आवासका लागि प्रयोग भइरहेका ‘कुटी’, ‘आश्रम’ वा ‘भनुस’जस्ता शब्द केवल नामकरण मात्रै भएको उहाँको भनाइ छ।

बस्नेतले विगतमा पार्टी विभाजनका क्रममा ‘केपी ओली बार्दली गएका’ भन्दै व्यङ्ग्य गर्नेहरूलाई लक्ष्य गर्दै ओलीले त्यही बार्दलीबाटै देशको राजनीति सन्तुलन र निर्णय प्रक्रियामा प्रभाव जमाउँदै आएको नबिर्सन आग्रह गर्नु भएकाे छ। अहिले ‘राजनीतिबाट कुटी पुगे’ भन्ने टिप्पणीबारे पनि बस्नेतले राष्ट्रियता, विकास, समृद्धि र ‘भत्किएको देशको पुनर्निर्माण’का एजेण्डा ओलीले जहाँबाट बसेर पनि अघि बढाउने क्षमतामा कुनै कमी नरहेको स्पष्ट पार्न भएकाे छ ।