काठमाडौं, मंसिर २२ । नेकपा एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवाद पनि टुङ्गिएको छ। संगठन विभागको निर्देशनअनुसार पुनः छलफल र समन्वयपछि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ ।
एकपक्षीय ढङ्गले प्रतिनिधि छानिएको भन्दै यस अघि असन्तुष्ट समूहले उजुरी हालेको थियो। एमाले संगठन विभागले विवाद समाधानका लागि पार्टीका कोसी प्रदेश कमिटीका इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईलाई जिम्मा दिएको थियो। दुई नेताको लगातारको समन्वयपछि धनकुटाबाट १३ जना प्रतिनिधि सर्वसम्मत रूपमा छानिएका हुन्।
जस अनुसार खुला तर्फबाट निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई सर्वसम्मत प्रतिनिधि बन्नुभएको छ । यस्तै, युवा तर्फबाट सरोज राई र उत्पीडित तर्फबाट नैन रुचाल प्रतिनिधि छानिनु भएको छ । महिलातर्फबाट तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की प्रतिनिधि चयन हुनुभएको छ । साथै जिल्लाका दुईजना वरिष्ठ नेताहरूलाई मनोनयन गर्ने सहमति पनि भएको छ।
यसअघिका प्रतिनिधि शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा हाल निरेन तामाङ र मनोज राईलाई समावेश गरिएको छ । प्रतिनिधि विवाद समाधानसँगै धनकुटाबाट ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो लागेको छ ।













प्रतिक्रिया दिनुहोस्