जनता टाइम्स

२३ मंसिर २०८२, मंगलवार १८:५०

एमाले राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोहमा १६ राजनीतिक दललाई निम्त्याइँदै 


काठमाडौं, मंसिर २३ । नेकपा (एमाले) ले मंसिर २७ गतेबाट सुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई निम्तो दिने भएको छ। विघटित संसदमा रहेकोसहित १६ दललाई निम्तो पठाउने तयारी एमालेले गरेको जनाएको छ।

यसै क्रममा पार्टी सचिव रघुवीर महासेठ र नेता महेश बर्तौलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवासमा पुगेर आज औपचारिक निम्तो पत्र हस्तान्तरण गरेका छन्। एमालेका अनुसार महाधिवेशनको उद्घाटन सत्र ‘राष्ट्रिय राजनीतिक समावेशिता’ झल्किनेगरी आयोजना गरिन लागेको छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा तथा नेपाल मजदुर किसान पार्टीलाई सहभागी गराइनेछ।

घटित संसदबाहिर रहे पनि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि एमालेले निम्तो दिने तयारी गरेको छ। त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समेत उद्घाटन समारोहमा सहभागी हुन बोलाइने भएको छ।

एमालेले हालै दर्ता भएका वा नयाँ खुलेका दललाई भने निम्तो नपठाउने निर्णय गरेको छ। महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम विघटित संसदमा प्रतिनिधित्व गरिरहेका दल र पुराना राजनीतिक शक्तिहरूमा केन्द्रित  हुने भएको छ ।