जनता टाइम्स

२३ मंसिर २०८२, मंगलवार १९:१३

सुदन गुरुङको चुरीफुरी : प्रधानमन्त्रीसँग फोटो खिच्दै, अनावश्यक दबाब दिँदै 


काठमाडौं, मंसिर २३ । भदौ २३ गतको जेनजी आन्दोलन हाइज्याक गरी आफूलाई जेनजी आन्दोलनका नाइके बताउने सुदन गुरुङको चुरीफुरी निक्कै बढेको छ ।

भदौ २३ गते हामी नेपाली अभियानको नामबाट आन्दोलनकारीलाई पानी बाँड्न हिँडेको बताउने गुरुङ र उनको समूहले आन्दोलनलाई हाइज्यक गरी भदौ २४ गते वितण्डा मच्चाएको थियो । त्यही वितण्डा मच्चाउन उकास्ने मध्येकी एक सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार तिनै गुरुङको निर्देशनमा चलिरहेको छ ।

आफ्नो निर्देशन अनुसार आफैँले नियुक्ति दिलाएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका सल्लाहकार हालका गृह मन्त्रीले काम नगरेको भन्दै राजीनामा मागिरहेका छन् ।  उनको मुख्य दबाब पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने रहेको छ । तर उहाँहरूलाई पक्राउ गर्ने कुनै आधार फेला पर्न नसके पछि सरकारले पक्राउ गर्न सकेको छैन ।

तिनै गुरुङले मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर विभिन्न दबाब दिएका छन् । उनले कार्की आफ्नै निर्देशनमा चलेको देखाउन कार्कीसँग उभिएको फोटो सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौताको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने गुरुङको ताकेता छ ।