काठमाडौं, मंसिर २३ । ‘तिब्बतीयन ओरिजनल ब्लड (टीओबी)’ लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलनका नाममा वितण्डा मच्चाउने तेञ्जिङ दावा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
विभिन्न तीन अभियोगसहित प्रहरीद्वारा पक्राउ परेका दावालाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । तेन्जिङ विरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’, ‘लिखतसम्बन्धी’ तथा ‘नागरिकता र राहदानीसम्बन्धी’ कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दावाबाट गाँजा समेत बरामद गरेको दाबी गरेको छ। टीओबी गतिविधिसँग सम्बन्धित १३ थान बुलेट र पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा राखेको छ।
भदौ २३ गते दिउँसो १२ बजे पछि बिजुलीबजार क्षेत्रमा बाइक पड्काउँदै नारा जुलुस निकाल्ने र भीडलाई उत्तेजित गर्ने गतिविधिमा दावा संलग्न रहेको प्रहरीको आरोप छ। सो क्रममा भीडलाई उक्साउने, सडक अवरुद्ध गर्ने र सार्वजनिक सुरक्षा प्रभावित हुने खालका कार्य भएको प्रहरीको अभियोग छ ।
प्रहरीका अनुसार दावाले बयानका क्रममा ‘आफू आधा तिब्बतियन भएको’ बताएका छन्। सो समूहमा दावाबाहेक अन्य सदस्य भने नेपाली मूलका रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। हिरासतमा रहेका दावाले ‘भीडमा गएर उत्तेजना फैलाउने काम गरेर गल्ती भएको’ स्वीकार गरेको बयान दिएका थिए ।













प्रतिक्रिया दिनुहोस्