जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार ०८:५५

वर्तमानको हाँकलाई सामना गर्न सक्ने नेतृत्व चयन गरी पार्टीलाई क्रान्तिकारी र एकताबद्ध बनाउन पहल गरौँ : आनन्द पोखरेल 


 काठमाडौं, मंसिर २४ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले एमालेलाई क्रान्तिकारी र एकताबद्ध पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

पार्टीको ११ औँ महाधिवेशनको मुख्य कार्यभार यही भएको उहाँको धारणा छ । ‘अहिले हामी ११ औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा छौँ, वर्तमानको हाँकलाई सामना गर्न सक्ने नेतृत्व चयन गरी पार्टीलाई क्रान्तिकारी र एकताबद्ध बनाउन पहल गरौँ’, पोखरेलको आह्वान छ ।

एमालेको राजनीतिक कार्यदिशा– शान्तिपूर्ण, संवैधानिक प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गरी सरकार निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने  भएको स्पष्ट पार्दै उहाँले संसदीय निर्वाचन मार्फत जाने एमालेको कार्यदिशा भएको स्पष्ट पार्नुभएको छ ।

कम्युनिष्ट पार्टी खुल्ला भएको बताउँदै खुल्ला पार्टी निर्माण गर्दा कम्युनिष्ट पार्टीभित्र प्रवेश गर्ने सामन्तका अवशेष, दलाल पुँजीपति, बुर्जुवा वर्गले, उपभोक्तावादी शिक्षा प्रणालीबाट दीक्षित विद्यार्थी, युवा र व्यावसायिकता नाममा दलाल पुँजीपतिसँग मितेरी लगाउने  पोखरेलको धारणा छ । उनीहरू बाहिरी रूपमा क्रान्तिकारी देखिए पनि पुरानो पुँजीपति वर्गका भूतपूर्व सदस्यहरू हुने उहाँले बताउनु भएको छ । ‘यिनीहरूको वर्ग चरित्र, वर्ग दृष्टिकोण रुपन्तरण भएको हुँदैन, सरुवा रोग जसरी पुँजीपति वर्गका रहनसहन, रीतिथिति, आनीबानीसँगै लिएर आएका हुन्छन्, यिनीहरू नेतृत्वमा पनि पुग्छन्, निश्चित स्वार्थ पुरा नभए यो वर्ग अवशेषले पार्टीभित्र अराजकता र अस्थिरता सृजना गर्न यहाँसम्मकी पार्टी विभाजन र विसर्जन गराउन समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, विगतमा हामीले यो भोग्दै आएका छौँ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।