काठमाडौं, मंसिर २८। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिँदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले खाना खाएपछि बन्द सत्र सुरु गरिनेछ। बन्द सत्र काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुँदै छ, जहाँ २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। प्रतिनिधिहरू भृकुटीमण्डप परिसरमा भेला भएका छन्।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ। पोलिटब्युरो ९९ सदस्यीय बनाइनेछ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिनेछ।
पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधानहरू यथावत् राखिनेछन्। बन्द सत्रबाट विधान संशोधन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्