काठमाडौं, पुस २ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा हुने चुनावी प्रचारप्रसारलाई मर्यादित, स्वच्छ र कमखर्चिलो बनाउने उद्देश्यले झण्डा प्रयोगसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।
आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको प्रस्तावित आचारसंहितामा राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्न पाउने झण्डाको संख्या स्पष्ट रूपमा तोकेको छ । आयोगका अनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाइनेछ । झण्डाको अत्यधिक प्रयोगबाट हुने दुरुपयोग, अव्यवस्था र खर्च नियन्त्रण गर्ने मनसायका साथ यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको तीन बाई चार फिट नापको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने व्यवस्था गरिएको छ । त्यसबाहेक प्रचारप्रसारको उद्देश्यले कुनै पनि प्रकारका डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न नपाइने उल्लेख गरिएको छ । यस्तै, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पनि रोक लगाइएको छ ।
आयोगले झण्डा र चुनाव चिन्ह प्रयोगमा पनि स्पष्ट सीमा तोकेको छ । प्रस्तावित आचारसंहिताअनुसार १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न पाइने तथा राजनीतिक दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न सकिने व्यवस्था गरिएको छ ।
घरदैलो कार्यक्रमका क्रममा हुने भिड नियन्त्रणका लागि पनि नयाँ प्रावधान प्रस्ताव गरिएको छ । निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी हुन नपाइने व्यवस्था गरिएको छ । साथै, बाजागाजा, झाँकीसहित जुलुस निकाल्न नहुने प्रावधान पनि समावेश गरिएको छ ।
प्रस्तावित आचारसंहिताले अनलाइन तथा डिजिटल माध्यममार्फत हुने प्रचारप्रसारमा समेत कडाइ गरेको छ । अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम वा काउन्टरमार्फत सन्देश प्रवाह, सडक नाटकजस्ता कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा मात्रै प्रचार सामग्री राख्न सक्ने व्यवस्था भने गरिएको छ ।
यसैगरी, दलको झण्डा वा दल एवं उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने, कुनै पनि प्रकारको भित्तेलेखन गर्न नपाइने प्रस्ताव गरिएको छ । चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत कुनै पनि सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ ।
निर्वाचन आयोगले यी प्रावधानहरू निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ प्रस्ताव गरिएको जनाएको छ । प्रस्तावित आचारसंहिता सरोकारवालासँगको छलफलपछि अन्तिम रूप दिइने आयोगको तयारी छ ।













प्रतिक्रिया दिनुहोस्