जनता टाइम्स

२ पुष २०८२, बुधबार १२:१५

कुलमान घिसिङलाई लीलामणि पोखरेलको चेतावनी : बिना सिद्धान्त पार्टी चल्दैन, अप्ठेरो पर्ला 


काठमाडौं, पुस २ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले विना सिद्धान्तको राजनीति नचल्ने बताउनुभएको छ ।

रामेछापको सुनापतिमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पोखरेलले भदौ २३ र २४ को विध्वंस बालेन, रास्वपा र राप्रपा मिलेर मच्चाएका बताउनुभयो । उहाँले राजनीति गर्न सिद्धान्त चाहिने बताउँदै कुलमान घिसिङको सम्बन्ध आज बालेनसँग भएको बताउनुभयो । ‘बिना सिद्धान्तको राजनीति बन्दैन, त्यो चटकेहरुको खेल मात्रै हुन्छ’, उहाँले भन्नुभयो ।

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउन माओवादी पार्टीका ठुलो भूमिका रहेको बताउँदै उहाँले आज कुलमान पार्टी प्रति बैगुनी भएका बताउनुभयो । पार्टी खोल्नुस्, त्यसमा हाम्रो कुनै विवाद छैन, उज्यालो नेपाल नामको पार्टी खोल्नु भएको छ, खाेल्नु हाेस्, तर आज उहाँको सम्बन्ध बालेनसँग छ’, पोखरेलले भन्नुभयो ।

आज राप्रपा, रवि र बालेनका मान्छेहरू सुधन गुरुङलाई उपयोग देश समाप्त पार्न लागेका उहाँको भनाई छ । आज कुलमान समेत अमेरिकाबाट परिचालित भएको भन्ने कुरा आएको बताउँदै उहाँले कुलमानका सामु धेरै चुनौती भएकाले बिचार गर्न चेतावनी दिनुभयो । ‘मुलुकको हितको विरुद्धमा लागेका पक्षमा नजानुस्, उहाँलाई मेरो अनुरोध यत्ति हो’, पोखरेलले भन्नुभयो  ।

कुलमानले भ्रष्टाचार गरेको भन्ने कुरा आइरहेको बताउँदै अब आफूले कुलमानको डिफेन्स गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।