जनता टाइम्स

२ पुष २०८२, बुधबार १९:२३

एमाले महाधिवेशन : साँझ ५ बजेसम्म जम्मा ८०२ मत खस्यो, रातभरि मतदान हुने 


काठमाडौं, पुस २। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रिया जारी छ । विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) मार्फत मतदान भइरहेको निर्वाचनमा साँझ ५ बजेसम्म ८ सय २ मत खसेका छन् ।

निर्वाचन आयाेगका अनुसार महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी छन् । तीमध्ये साँझ ५ बजेसम्म ८ सय २ प्रतिनिधिले विद्युतीय मतदान मेसिनमार्फत आफ्नो मताधिकार प्रयोग गरिसकेका हुन् । मतदान प्रक्रिया बिहानदेखि सुरु  भएकाे भए पनि मतदानकाे लागि निक्कै समय लागेकाेले ढिला भएकाे छ । निर्वाचन आयाेगका अनुसार मतदान गर्न कतिपय मतदाताले २ घण्टासम्म लगाएका छन् ।

महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरू चयनका लागि मतदान भइरहेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि एमालेले यस पटक विद्युतीय प्रणाली प्रयोग गर्दै निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।

निर्वाचन आयाेगका अनुसार मतदान सुरु भएपछि नराेकिने भएकाेले रातभरि पनि मतदान सञ्चालन गरिनेछ । सबै प्रतिनिधिले मतदान गर्न पाउने सुनिश्चितता गरी साँझ ८ बजेसम्म मतदानकाे लागि टाेकन वितरण गरिने छ ।

महाधिवेशन स्थलमा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । मतदान केन्द्रभित्र अनुशासन कायम गर्न स्वयंसेवक र सुरक्षाकर्मी परिचालित छन् भने विद्युतीय मेसिनको प्राविधिक पक्ष हेर्न छुट्टै प्राविधिक टोली खटाइएको छ ।

एमालेको ११औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी राजनीतिक कार्यदिशा तय गर्ने भएकाले यस निर्वाचनलाई चासोका साथ हेरिएको छ । मतदान सकिए लगत्तै विद्युतीय प्रणालीमार्फत मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।