जनता टाइम्स

२ पुष २०८२, बुधबार २०:४३

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि मतदान केन्द्रमा प्रवेशको समय राति १० बजेसम्म थप


काठमाडौं, पुस २। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदानका लागि मतदान केन्द्रमा प्रवेश गर्ने समय राति १० बजेसम्म थप गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न समय थपिएको हो ।

एमालेका निवर्तमान महासचिव शंकर पोखरेलले मतदान प्रक्रियाबारे जानकारी दिँदै सहभागी सबै प्रतिनिधिलाई समयमै आफ्नो मतदान अधिकार सुरक्षित गर्न आग्रह गर्नुभयो । ‘मतदानका लागि मतदान केन्द्रमा प्रवेशको समय राति १० बजेसम्म थप गरिएको छ, सहभागीका लागि कुपनको व्यवस्था समेत गरिएको छ, कुपन लिएर मतदानको अधिकार समयमै सुरक्षित गरौँ,’ उहाँले भन्नुभयो ।

निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको छ । प्रतिनिधिहरूले प्रवेशको समयभित्र मतदान केन्द्रमा उपस्थित भई कुपन लिएपछि निर्धारित प्रक्रियाअनुसार मत हाल्न सक्नेछन् । समय थपिएसँगै ढिलाइका कारण मतदानबाट वञ्चित हुने सम्भावना न्यून हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनमा सहभागी २ हजार २ सय ६३ प्रतिनिधिका लागि मतदान प्रक्रिया व्यवस्थापन गर्न कुपन प्रणाली लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । यसले मतदान केन्द्रमा भीड व्यवस्थापन र मतदान प्रक्रिया व्यवस्थित बनाउन सहयोग पुग्ने बताइएको छ ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको भए पनि मतदाताहरू विद्युतीय मेसिनमा मतदान गर्न अभ्यस्त नभएको कारण मत हाल्न निक्कै ढिलाइ भएको छ । अझसम्म आधा मत पनि खसेको छैन ।

एमालेको ११ औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको भावी राजनीतिक दिशा तय गर्ने भएकाले निर्वाचन प्रक्रियालाई चासोका साथ हेरिएको छ ।