जनता टाइम्स

३ पुष २०८२, बिहीबार १३:५६

एमाले ११औँ महाधिवेशनः केपी ओली अध्यक्ष, शंकर पोखरेल महासचिवसहित पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक, एमाले पदाधिकारीमा को–को निर्वाचित भए ?


काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली विजयी हुनुभएको छ भने महासचिव पदमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीको प्यानलले पदाधिकारी तहमा उल्लेखनीय जित हासिल गरेको छ । उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज बिष्ट र रघुजी पन्त विजयी हुनुभएको छ ।

यसैगरी महासचिव पदमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ भने उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ ।

सचिव पदका लागि भएको निर्वाचनमा पनि अध्यक्ष ओलीको प्यानल नै विजयी भएको छ । सचिव पदमा निर्वाचित हुनेमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन् ।

११औँ महाधिवेशनबाट नेतृत्वको अन्तिम टुंगो लागेसँगै एमालेभित्र अध्यक्ष ओलीको नेतृत्व थप सुदृढ भएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।