काठमाडौं, पुस ३। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनमार्फत पार्टी अध्यक्षमा पुनः निर्वाचित भएपछि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले महाधिवेशनलाई पार्टीको साझा सफलता भएको उल्लेख गर्दै ‘महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन’ भन्नुभएको छ। उहाँले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध, अनुशासित र जिम्मेवार बनाएको दाबी गर्नुभयो।
नव निर्वाचित अध्यक्ष ओलीले पार्टी पङ्क्तिमा देखिएको उत्साह र सहभागितालाई ऐतिहासिक भन्दै महाधिवेशन सफल बनाउन भूमिका खेल्ने प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ ‘सबैलाई बधाई!’ भन्दै उहाँले आगामी दिनमा पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरेको छ। पार्टी नेतृत्वले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न उपयोग गर्ने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्