जनता टाइम्स

४ पुष २०८२, शुक्रबार १७:३४

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न, कार्यविभाजनकाे जिम्मा सचिवालयलाई, अर्काे बैठक पुस २६ मा बस्ने 


काठमाडौं, पुस ४। नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज सम्पन्न भएको छ। बैठकले संगठनात्मक तथा संरचनागत महत्त्वपूर्ण निर्णयहरू गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभएको छ।

बैठकले पार्टीभित्रको कार्यविभाजन सचिवालयमार्फत गर्ने गरी अनुमोदन गरेको छ। यससँगै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी निर्धारण गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको छ।

त्यस्तै, केन्द्रीय कमिटीका पूर्व सदस्यहरू तथा विभिन्न केन्द्रीय निकायका पूर्व सदस्यहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरिएको छ। परिषद् गठनको सम्पूर्ण अधिकार सचिवालयलाई प्रत्यायोजन गरिएको तामाङले बताउनुभयो।

बैठकले ११ औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद प्रस्ताव समेत पारित गरेको छ।

महाधिवेशनबाट संशोधित तथा परिवर्तित विधान प्रकाशित गर्ने अधिकार पनि सचिवालयलाई प्रदान गरिएको छ। यसले विधान कार्यान्वयनलाई सहज बनाउने विश्वास गरिएको छ।

यसै गरी, केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा बस्ने निर्णय गरिएको छ।

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनपछि संगठन सुदृढीकरण र संरचनागत व्यवस्थापनलाई तीव्रता दिने सङ्केतका रूपमा पहिलो बैठकका निर्णयहरूलाई अर्थपूर्ण रूपमा हेरिएको छ।