जनता टाइम्स

४ पुष २०८२, शुक्रबार २०:२३

सहकारी ठगी मुद्दामा झण्डै ३ करोड धरौटीमा छुटेका रवि लामिछानेको धम्की : सबैको हिसाबकिताब गर्न बाँकी छ 


काठमाडौं, पुस ४। रास्वपा सभापति रवि लामिछाने अदालतको आदेशबाट रिहा हुनुभएकाे छ । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उहाँ छुट्नु भएकाे हाे ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैङ्क ग्यारेण्टि स्वीकार गरी धरौटीमा छाड्ने आदेश दिएको हो ।  उक्त रकमलाई बिगोका हकमा सुरक्षित गर्ने आदेश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले गरेको  थियो ।

अदालतबाट छुटेका लामिछाने भैरहवाबाट चितवन प्रस्थान गर्नुहुने भएकाे छ। चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गरी साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।

ठुलाे रकम धरौटी राखेर छुटेका लामिछानेले आफू माथि अन्याय भएको बताउनुभएकाे छ । तर देश माथि भएको अन्याएका अगाडि आफू माथि भएको अन्याय कम भएको उहाँकाे भनाइ छ । उहाँले आफू माथि गरेको अन्यायको हिसाबकिताब गर्ने धम्की पनि दिनुभएकाे छ ।  लामिछानेले भन्नुभयाे, ‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन, यो सबैको हिसाब गर्नु छ, हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी छ, मैले धेरै बोल्न बाँकी छ, मैले धेरै बोल्ने दिन आउँदै छ ।’

रविले जिल्ला अदालत रुपन्देहीमा सुप्रिम सहकारीबाट आफू कार्यरत गोर्खा मिडियामा प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने रकम बराबरको बैङ्क ग्यारेन्टी राखेर थुनामुक्त हुन निवेदन दिनुभएकाे थियाे। प्रतिवादीले बिगोका हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको अदालतले जनाएको छ ।

अदालतले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैङ्क जमानत  स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनु भन्ने आदेश  दिएको छ ।  अदालतबाट भविष्यमा फैसलाले थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मञ्जुर गरी कागज गराउन पनि आदेश दिएको छ । रविले व्यक्तिगत वा संस्थागत रूपमा विदेश जानु परेमा अदालतलाई पूर्वजानकारी दिन पनि भनिएको छ ।