काठमाडौं, पुस ४। नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको मत परिणामपछि नेता विष्णु रिमालप्रति गरिएका टिप्पणीहरू अनुचित र खेदजनक भएको टिप्पणी गर्नुभएको छ।
महाधिवेशनपछि सार्वजनिक धारणा राख्दै थापाले कुनै पनि निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भए पनि व्यक्तिगत आक्रमण र बदनाम गर्ने अभियान स्वीकार्य नहुने बताउनुभएको हो। ‘कुनै पनि चुनावमा जित र हार हुन्छ, सबै उम्मेदवारको जित सम्भव हुँदैन,’ थापाले भन्नुभएको छ, ‘तर महाधिवेशनको परिणामपछि कमरेड विष्णु रिमालप्रति गरिएका आपत्तिजनक र अपराधजन्य टिप्पणीहरू अत्यन्त दुःखद छन्।’
थापाका अनुसार रिमालले कहिल्यै सहकर्मी नेताहरूमाथि ‘ग्याङ अफ फाइभ’ जस्ता लाञ्छना लगाएर आफूलाई अग्लो देखाउने प्रयास गर्नुभएन। अध्यक्ष केपी शर्मा ओलीलाई आफूले मात्र जोगाएको वा प्रतिरक्षा गरेको दाबी गर्दै व्यक्तिगत प्रचार र मार्केटिङमा पनि उहाँ नलागेको थापाको भनाइ छ। पार्टीभित्र र बाहिरबाट भएका घेराबन्दी, प्रहार र नियोजित दुष्प्रचारलाई समेत उहाँले बेवास्ता गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रूपमा २० महिना सँगै काम गरेको अनुभव स्मरण गर्दै थापाले रिमालको कार्यसम्पादन प्रत्यक्ष देखेको बताउनुभएको छ। प्रधानमन्त्रीलाई भेट्न नदिएको वा भेट्न नपाएको जस्ता आरोप लगाएर ‘हराऊ अभियान’ चलाइएको आरोपलाई पनि उहाँले अस्वीकार गर्नुभएको छ।
थापाका अनुसार रिमाल एउटै जितमा अति उत्साहित हुने वा एउटा हारमा मर्माहत भएर निराश हुने खालको व्यक्ति होइन। ‘उहाँ अविरल निष्ठामा बाँच्ने र जुनसुकै जिम्मेवारी पूर्ण योग्यताका साथ पूरा गर्ने कर्मयोगी नेता हो,’ उहाँले भन्नुभएको छ।
पदमा रहँदा वा नरहँदा उहाँलाई खासै फरक नपर्ने तर पार्टीलाई भने कठिन समयमा उहाँजस्ता नेताको अझ बढी आवश्यकता पर्ने थापाको धारणा छ । रिमाललाई ‘अलराउण्डर’ र पौरखी नेता भन्दै थापाले उहाँको अपरिहार्यता पार्टीका लागि सधैँ रहने उल्लेख गर्नुभएको छ। योग्यता, क्षमता र निष्ठासँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले व्यक्तिगत आक्रमण र बदनाम अभियानको सहारा लिने प्रवृत्ति इतिहासमै देखिएको उहाँको भनाइ छ।
सीमा र मर्यादा नाघेर उहाँलाई हराउन लाग्नेहरूले खुसी मान्नुपर्ने अवस्था नरहेको र यो कुनै हार नभएको थापाको भनाइ छ । ‘राजनीतिक पृष्ठभूमि, योगदान, योग्यता र व्यवहारका आधारमा प्रतिस्पर्धा गर्नेहरू सबै सम्मानयोग्य छन्,’ थापाले भन्नुभएको छ, ‘तर ‘प्रधानअन्तरविरोध नै उहाँसँग छ’ भन्ने खालको भ्रम फैलाउने प्रयास उचित हुँदैन।’
महाधिवेशनको निर्णय सर्वोपरि भए पनि अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने उद्देश्यले नतिजाको व्याख्या गरिएको ठानिए त्यो ठूलो भ्रम हुने चेतावनी थापाले दिनुभएको छ। ‘छिट्टै सबैले ‘न्याउरी मारी पछुतो’ जस्तै अनुभव गर्ने अवस्था आउन सक्छ,’ उहाँले टिप्पणी गर्नुभएको छ।
एमालेकाे ११ औं महाधिवेशनमा उपमहासचिव पदमा रिमाल पराजीत हुनुभएकाे थियाे केपी ओली प्यानलका दुई उपमहासचिवले चुनाव जित्दा रिमाल भने पराजीत हुनु भयाे ।













प्रतिक्रिया दिनुहोस्