काठमाडौं, पुस ५ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समिक बडालले पार्टीलाई आजको अवस्थामा प्रविधि–युक्त र व्यवस्थापकीय रूपमा सुदृढ बनाउने कार्यमा विष्णु रिमालको भूमिका निर्णायक रहेको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले बुझाइमा कमजोरहरूले अहिले नबुझे पनि समयले रिमालको योगदानको गहिरो मूल्याङ्कन गर्ने उल्लेख गर्नुभएको छ। ‘आज नेकपा एमाले प्रविधि–युक्त र व्यवस्थापकीय पिलरका रूपमा उभिनुमा विष्णु रिमालको भूमिका निर्णायक छ,’ उहाँको भनाइ छ, ‘बुझाइमा कमजोरहरूले आज नबुझे पनि समयले उहाँको योगदानको गहिरो मूल्याङ्कन गर्नेछ।’
महाधिवेशनपछि नेतृत्व चयन र मूल्याङ्कनबारे टिप्पणी गर्दै बडालले नेतृत्व भीडले चयन गरे पनि इतिहासले मूल्याङ्कन गर्ने स्पष्ट पार्नुभएको छ। तत्कालका परिणामले हार–जित देखाए पनि त्यसले दीर्घकालीन योगदानलाई ओझेलमा पार्न नसक्ने बडालले बताउनुभयो। ‘नेतृत्व चयन भीडले गर्छ, इतिहासले मूल्याङ्कन गर्छ,’ बडालले लेख्नुभएको छ, ‘आज हारेझैँ देखिएका विष्णु रिमाल बिना एमाले नै कमजोर हुने यथार्थ इतिहासले प्रमाणित गर्नेछ।’
उहाँको यो धारणा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि नेतृत्व चयन र त्यससँग जोडिएका बहसका सन्दर्भमा आएको हो। महाधिवेशनपछिको राजनीतिक मूल्याङ्कनका क्रममा बडालले पार्टी निर्माणमा प्रविधि, संगठन व्यवस्थापन र दीर्घकालीन सोचको महत्वलाई समेत औँल्याउनुभएको छ।
पार्टीको ११ औँ महाधिवेशनमा रिमाल पार्टी उपमहासचिव पदमा पराजित हुनुभएको थियो । केपी ओली प्यानलका अधिकांश पदाधिकारी र सदस्यले चुनाव जित्दा रिमाल भने पराजित हुनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्