काठमाडौं, पुस ५। नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र र बाहिर दुई स्पष्ट सन्देश दिएको भन्दै प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले टिप्पणी गर्नुभएको छ। महाधिवेशन सम्पन्न भएसँगै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, लोकप्रियता र संगठनभित्रको शक्ति सन्तुलनबारे प्रष्ट सन्देश गएको बताउनुभएको हो।
बस्नेतका अनुसार महाधिवेशनले पहिलो सन्देशका रूपमा ‘जतिसुकै र जुनसुकै हतकण्डा अपनाए पनि केपी ओलीको क्रेज र कद घटाउन नसकिने’ तथ्य पुष्टि गरेको छ। उहाँले लेख्नुभएको छ, ‘केपी ओलीका लागि पद पाउनेभन्दा नपाउनेहरू प्रतिबद्ध छन्, तिनको अटुट विश्वास छ।’
अध्यक्ष ओलीप्रति पार्टी पङ्क्तिभित्र रहेको राजनीतिक भरोसा र समर्थन अझै बलियो रहेको उहाँको धारणा छ ।
दोस्रो सन्देशका रूपमा बस्नेतले पार्टीभित्रको आन्तरिक व्यवहार र नेतृत्वप्रति निष्ठासँग सम्बन्धित कडा टिप्पणी गर्नुभएको छ। उहाँले नेताको घरदैलो चाहर्ने र तोकिएको बाहेक सबै जिम्मेवारी पूरा गर्नेहरूको सूचीमा नपर्नेहरूको पार्टीमा कुनै खैरियत नहुनु भने निक्कै विडम्बनाको कुरा भएको टिप्पणी गर्नु भएको छ । ‘केपी ओलीलाई मन, बचन र कर्मले सघाउने, युद्धको मोर्चामा निरन्तर खटिएर शत्रुको प्रहार छेक्ने अनि काममा होइन, नेताको घरदैलो चाहर्ने र तोकिएको बाहेक सबै जिम्मेवारी पूरा गर्नेहरूको सूचीमा नपर्नेहरूको यो पार्टीमा कुनै खैरियत छैन’, उहाँको टिप्पणी छ ।
बस्नेतको भनाइलाई एमालेको एघारौँ महाधिवेशनपछिको नेतृत्व चयन र आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। महाधिवेशनमा अध्यक्ष ओली पुनः अध्यक्षमा निर्वाचित भएसँगै उहाँको नेतृत्वमाथि उठाइएका आलोचना र विरोधका स्वरहरू मत परिणामले कमजोर पारेको छ ।
एमाले महाधिवेशनअघि र अवधिभर नेतृत्व चयन, सहमति र प्रतिस्पर्धाबारे तीव्र बहस चलेको थियो। महाधिवेशनपछि पनि विभिन्न नेताहरूले मत परिणामलाई आ–आफ्नै ढङ्गले व्याख्या गरिरहेका छन्। यही सन्दर्भमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष बस्नेतको अभिव्यक्तिलाई पार्टीभित्रको यथार्थ र भावी राजनीतिक दिशा बुझ्ने एउटा महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ।
एमाले नेतृत्व महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा व्याख्या गर्दै आएको छ। अध्यक्ष ओलीले पनि महाधिवेशनपछि ‘सबैको जित भएको, कसैको हार नभएको’ अभिव्यक्ति दिँदै पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्