जनता टाइम्स

५ पुष २०८२, शनिबार २१:१२

गुटगत भेलाले पार्टीलाई कमजोर बनाउँछ : राजेन्द्र गौतम 


काठमाडौं, पुस ५ । नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र गौतमले गुटगत भेलाले पार्टीलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ।

स्वस्थ प्रतिस्पर्धामार्फत महाधिवेशनको नतिजा आइसकेको अवस्थामा ‘धन्यवाद’का नाममा पुनः छुट्टाछुट्टै भेला गर्नु उपयुक्त नहुने उहाँको भनाइ छ। प्रेस चौतारी नेपालले आयोजना गरेको बधाई  तथा  जन्मदिनकाे शुभकामना कार्यक्रममा बोल्दै संगठनका निवर्तमान इञ्चार्ज समेत रहनुभएका गौतमले यस्तो गतिविधिले पार्टीभित्र विभाजनको खतरा बढाउने उल्लेख गर्नुभयो। महाधिवेशनमा पराजित ईश्वर पोखरेल नेतृत्वको टिमले कार्की ब्याङ्केटमा आयोजना गरेको धन्यवाद भेला लक्षित गर्दै उहाँले उक्त टिप्पणी गर्नुभएको हो।

गौतमले देश अहिले गम्भीर भू–राजनीतिक प्रभाव र बाह्य चलखेलको जोखिममा रहेको बताउँदै यस्तो संवेदनशील समयमा नेकपा एमालेको नेतृत्व साझा, समावेशी र सबैको हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेतृत्व कुनै एक टिम वा गुटको ‘ट्याग’मा सीमित हुन नहुने र पार्टीभित्रका सबै धारलाई समेटेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले लोकतान्त्रिक शक्तिहरू एकजुट नहुँदा बाह्य हस्तक्षेप र अस्थिरता बढ्ने खतरा रहेको उल्लेख गर्दै ‘स्वतन्त्र’का नाममा व्यवस्थामाथि नै प्रहार गर्ने प्रयासहरू देखिन थालेको दाबी गर्नुभयो। केही व्यक्ति र समूहलाई कृत्रिम रूपमा उकास्ने, नयाँ–नयाँ समीकरण बनाउने र राजनीतिक अस्थिरता सिर्जना गर्ने गतिविधि बढिरहेको उहाँको भनाइ छ ।

गौतमले पार्टीले लिएको सङ्कल्पलाई पूरा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो। त्यसका लागि समयको गति, युवापुस्ताको चाहना र अपेक्षालाई बुझेर पार्टीले व्यवहारिक रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

११ औँ महाधिवेशनबाट देशले चाहना राखेको नेतृत्व चयन भएको उल्लेख गर्दै गौतमले उक्त नेतृत्वले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक सङ्कट समाधान गर्न तथा देश विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।