जनता टाइम्स

६ पुष २०८२, आईतवार २२:०२

एमाले रामेछापले दियो ओलीलाई बधाई, १० वर्षीय बालक योगेश श्रेष्ठको हातबाट काटियो केक 


काठमाडौं, पुस ६ । नेकपा एमाले रामेछापको टोली आइतबार तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएका केपी ओलीलाई भेट्न उहाँको निवास गुण्डु पुगेर बधाई तथा शुभकामना दिएको छ ।

रामेछाप भूगोल भएका निर्वाचित केन्द्रीय सदस्यहरू माधव ढुङ्गेल र गीता कार्की, पार्टीका प्रदेश कमिटी सदस्यहरू लगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा पालिका कमिटीका नेताहरू समेत ओलीलाई बधाई दिन गुण्डु पुग्नु भएको थियो । अध्यक्ष ओलीसँग खुसी साट्न एमाले नेताहरू केक समेत लिएर ओली निवास जानु भएको थियो ।

ओली निवास पुगेपछि केक निकालियो । केक काट्न नेताहरूले ओलीलाई अनुरोध गर्नुभयो ।

ओलीले सो केक आफूले काट्नु भएन । ओलीलाई भेट्न उहाँको निवासमा नेताहरूसँगै जानु भएको नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठका छोरा १० वर्षका योगेश श्रेष्ठको हात समातेर योगेशको हातबाट केक काट्नु भयो । काटेको एक टुक्रा केक आफैँले योगेशलाई खुवाउनुभयो । केक खाइ सकेपछि न्यापकिन लिएर आफ्नै हातले योगेशको मुख पुछिदिनुभयो ।

सोही क्रममा ओलीले योगेको हालचाल सोध्नुभयो, पढाइ सोध्नु भयो र भन्नुभयो बाबु पढ्दै छ, पिएचडी गर्छ । बच्चा प्रतिको ओलीको यो माया र सद्भावले सबैलाई प्रफुल्लित बनायो ।

त्यस पछि ओलीले केक केही पर सार्न लगाउनुभयो र भन्नुभयो– अहिले सबैले बाँडेर खानु पर्छ । अनि सुरु भयो शुभकामना आदानप्रदान

उहाँको निवासमा पुग्नु भएका सबै नेताहरूले पालै पालो खादा लगाइदिनुभयो । ओलीले खादा ग्रहण गर्दै सबैसँग हात मिलाउनुभयो । आत्मीयता बाँड्नुभयो । ओलीलाई बधाई तथा शुभकामना दिएर नयाँ उत्साह र जाँगरका साथ नेताहरू बाहिरिनुभयो ।

पूर्वप्रधामन्त्री, देशकै सबैभन्दा ठुलो पार्टीको अध्यक्ष तर व्यवहार सामान्य नागरिकको जस्तो । त्यसैले सबै भन्छन्– केपी बा !