जनता टाइम्स

७ पुष २०८२, सोमबार १९:२१

एमाले सचिव महेश बस्नेतकाे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव : लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्कने कल्पना नगर्नुस्


काठमाडौं, पुस ७ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको महाधिवेशनबाट भएका निर्णयलाई अन्तिम र सर्वमान्य नमान्ने हो भने एमाले पार्टी संगठनका रूपमा रहन नसकी ‘बहस क्लब’मा सीमित हुने चेतावनी दिनुभएको छ।

सचिव बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकाे अभिभावकको भूमिकामा बसेर लोकतान्त्रिक मूल्य र संस्थागत निर्णयको सम्मान गर्नु उपयुक्त हुने पनि बताउनुभएकाे छ । उहाँले पार्टीलाई कमजोर बनाउने बहस र गतिविधिमा ऊर्जा खर्च नगर्न भण्डारीलाई आग्रह गर्नुभएको छ। ‘यी कुरा बुझेर राष्ट्रको अभिभावकको भूमिकामै बस्नुभयो भने राम्रो हुन्थ्यो, महाधिवेशनको फैसला अन्तिम नमान्ने हो भने पार्टी संगठन रहँदैन, बहस क्लब बन्छ’, बस्नेतकाे भनाइ छ ।

उहाँले एमाले जस्तो संगठित र अनुशासित दललाई ‘क्लब’मा झार्ने प्रयासमा ऊर्जा खर्च गर्नु गलत दिशातर्फ उन्मुख हुनु भएको टिप्पणी गर्नुभयो। ‘एमालेलाई क्लब बनाउने काममा ऊर्जा खर्च नगर्दा राम्रो,’ उहाँले भन्नुभएको छ।

लोकतान्त्रिक व्यवस्था र राजतन्त्रसम्बन्धी बहसप्रति पनि सचिव बस्नेतले स्पष्ट असहमति जनाउनुभएको छ। लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्कने कल्पना गर्नु आफ्नै विगत, संघर्ष र राजनीतिक धरातलप्रतिको अविश्वास भएको उहाँको भनाइ छ। ‘लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्कने कल्पना गर्नु आफ्नै विगत र धरातलप्रतिको अविश्वास हो, यस्ता कुरामा बहस गरेर ऊर्जा पछाडि फर्काउन नलागौँ’, बस्नेतकाे धारणा छ ।

उहाँले राजनीतिक दल, विशेषगरी एमालेका नेता-कार्यकर्तालाई विगतको बहसभन्दा वर्तमान चुनौती र भविष्यको दिशातर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ। ‘बरु त्यो ऊर्जा लोकतन्त्र, संविधान र सुशासन जोगाउन केन्द्रित गरौँ,’ उहाँको भनाइ छ।

प्रधानमन्त्रीसँग भेट गरेर पार्टीभित्रकै सहयोद्धामाथि ‘त्रिशूल छाप’ लगाइदिने अभ्यासप्रति पनि सचिव बस्नेतले प्रश्न उठाउनुभएको छ। ‘आधा एमाले साथमा छौँ’ भन्ने सन्देश दिनु गुन बिर्सेर प्रतिशोध साध्ने राजनीतिक संस्कारको उदाहरण भएको उहाँको टिप्पणी छ। ‘प्रधानमन्त्रीसँग भेटेर आफ्नै सहयोद्धामाथि त्रिशूल छाप लगाइदिउँ, आधा एमाले साथमा छौँ भनेर भन्नु गुन बिर्सेर प्रतिशोध साध्ने अभ्यास होइन र ?’ उहाँले प्रश्न गर्नुभएको छ।