काठमाडौं, पुस ७। नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको बताएको छ।
एमालेका तर्फबाट बैठकमा सहभागी विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले सोमबार निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउनुभएको थियो। बैठकपछि बर्तौलाले लेख्नुभएको छ ,ʻनिर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ,प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ, तर राजनीतिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्रीज्यूले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वाचन हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रूपमै घोषणा भएको छ।ʼ
बर्तौलाले यसले मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद् पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै नभई व्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्य समेत सुदृढ ढङ्गले पुष्टि भएको उल्लेख गर्नुभएकाे छ । उहाँले भन्नुभयो,ʻखेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडीको अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता विपरीत नियमहरू अदलबदल हुन सक्दैनऽ त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि होइन र हुन सक्दैन।ʼ
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते मिति तय गरेको छ। तर एमाले, नेपाली कांग्रेस लगायत केही दलले संसद् पुनर्स्थापनाको माग गर्दै आएका छन्।













प्रतिक्रिया दिनुहोस्