जनता टाइम्स

८ पुष २०८२, मंगलवार १४:२८

गोकुल बाँस्काेटाकाे कटाक्ष : चुनाव हुँदैन भन्ने दलहरू खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्


काठमाडौं, पुस ८ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले निर्वाचन हुने–नहुने विषयमा राजनीतिक दलहरूले दोहोरो चरित्र देखाइरहेको टिप्पणी गर्नुभएको छ ।

दलहरूले सार्वजनिक रूपमा ‘चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिँदै आएको तर भित्रभित्रै समानुपातिक सांसदका लागि नाम सङ्कलन गरिरहेको भन्दै उहाँले कटाक्ष गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले लेख्नुभएको छ, ‘चुनाव हुँदैन पनि भन्छन् दलहरू, फेरि आफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्, कुन पत्याउनु हो ? लाखे !’

उहाँको यो टिप्पणी निर्वाचनको मिति र प्रक्रियालाई लिएर दलहरूभित्र र बाहिर देखिएको अन्योल तथा अविश्वासको पृष्ठभूमिमा आएको हो । पछिल्लो समय विभिन्न दलका नेताहरूले चुनावको सुनिश्चितताबारे फरक–फरक अभिव्यक्ति दिँदै आएका छन् भने समानुपातिक उम्मेदवार छनोटसम्बन्धी आन्तरिक तयारी पनि अगाडि बढाइरहेका छन् ।

आज मात्रै एमाले उपमहासचिव याेगेश भट्टराईले  प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्ने समय नजिक आइसकेकोले पार्टीको बैठक बसेर मापदण्ड बनाइ तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्ने विषयमा महासचिव शंकर पोखरेललाई फोनमार्फत ध्यानाकर्षण गराएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको थियो । बाँस्कोटाले दलहरूको सार्वजनिक अभिव्यक्ति र आन्तरिक अभ्यासबिचको अन्तरप्रति प्रश्न उठाउनु भएको छ ।