काठमाडौं, पुस ८ । भक्तपुर जिल्लको साबिकको गुण्डु गाविस– कुनै बेला गुमनाम थियो । काठमाडौं उपत्यका भित्रको पनि एउटा सानो उपत्यका, राजधानी नजिकैको दुर्गम गाउँ थियो गुण्डु । गुण्डुका स्थानीय राजधानी आउँथे, भक्तपुर धाउँथे तर काठमाडौंले गुण्डुलाई चिन्दैन थ्यो, भक्तपुरले गुण्डुको आवाज सुन्दैन थ्यो ।
देशमा बहुदल आयो । मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार बन्यो । आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम सरकारले ल्यायो । गाउँको विकासको लागि केही गर्नुपर्छ भन्ने युवा महेश बस्नेत जब तत्कालीन गुण्डु गाविसको अध्यक्ष बन्नुभयो तब गुण्डुलाई यसो विकासले च्याउन लाग्यो । गुण्डुका जनप्रतिनिधि गाउँको विकासका लागि बारम्बार जिल्ला सदरमुकाम र राजधानी धाउन लागे ।
निक्कै संघर्ष पछि गुण्डुमा बाटो पुग्यो, बस्ती विस्तार भयो । ठुला घरहरू बन्न लागे । भक्तपुरको काँठ खोज्नेहरू गुण्डुतिर छिर्न लागे । सडक विस्तार हुँदै जाँदा जग्गाको भाउ पनि बढ्न लाग्यो । आवास पनि केही बाक्लियो । सडक चौडा भयो तर यातायात र मानिसहरूको चहलपहल निक्कै कम थियो ।
आज त्यही गुण्डु यति व्यस्त भएको छ कि सडकमा जाम हुन लागेको छ । यातायात साधन र मानिसहरूको भिड बिहानदेखि साँझसम्म हुन लागेको छ । आउने, जाने यातायात साधन र मानिसहरूको दोहाेरिलत्त देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डु बस्न लागेपछि गुण्डुको चहलपहल अप्रत्याशित रूपमा बढेको छ ।
सुरु सुरुमा गाउँमा चाप बढेको देख्दा आत्तिएका गाउँलेहरू अहिले बिस्तारै अभ्यस्त हुन लागेका छन् । गाउँमा चहलपहल बढेको देख्दा स्थानीहरूमा खुसी छाएको छ । व्यापार व्यवसाय बढ्दै जान लागेको छ । चहलपहल बढेपछि यति बेला गुण्डु सबैको आँखाको नानी बन्न लागेको छ ।
यति बेला गुण्डुमा सार्वजनिक व्यस्तता बढेको छ । गुण्डुले थेग्न नसक्ने गरी चाप बढेको छ । एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओलीसँगै गुण्डुको लोकप्रियता पनि बढेर गएको छ ।













प्रतिक्रिया दिनुहोस्