काठमाडौं, पुस ९ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले घायल अवस्थामा रहेको बताउनुभएको छ ।
आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै उहाँले अहिलेको सरकार संविधानले नचिनेको सरकार भएको बताउनुभयो । ‘ अहिलेको सरकार संविधानले नचिन्ने, हामी सबैले मान्दै आएको सरकार हो, त्यसैले यो सरकारसँग केही गुनासो छैन, यो सरकारलाई भन्नु केही छैन’, उहाँले भन्नुभयो ।
कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न पनि सरकार र गृह मन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिनुभयो । कँडेलले निर्वाचनकालागि भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको बताउँदै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको बताउनुभयो । ‘ सुरक्षाकर्मी साथीहरू एक प्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्योल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ?’, उहाँले भन्नुभयो ।
सबै दलले भाग लिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने बताउँदै उहाँले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पार्नुभयो । ‘दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन, निर्वाचन गराउने हो भने, दलहरूसँग सघन छलफल गर्नुहोस्’, कँडेलले भन्नुभयो ।
जेनजीका नाममा समाजमा आतङ्क सृजना गरिएको बताउँदै मुख्यमन्त्री कँडेलले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने बताउनुभयो । ‘भदौ २३ गते युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन तर २४ गते भएको विध्वंस र आगजनी गर्ने माथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन’, उहाँले भन्नुभयो ।
उनले कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र साधन श्रोतको अवस्था दयनीय रहेकोले पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई परेको अप्ठ्यारो परेको बताउनुभयो । त्यस्तै कमजोर सडक पूर्वाधारका कारण दुर्घटना बढ्दै गएको उहाँले बताउनुभयो । कर्णाली हाइवेमा सुरक्षा पोष्ट सुरक्षा दिन नभएर असुली धन्धाको लागि राखिए जस्तो भएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्