जनता टाइम्स

९ पुष २०८२, बुधबार २०:०९

मुगुमा भाइरल ज्वरोको प्रकोप : १७ दिनमा ५ जनाको मृत्यु, अस्पतालमा बिरामीको चाप बढ्यो


काठमाडौं, पुस ९ । मुगु जिल्लामा फैलिएको भाइरल ज्वरो (इन्फ्लुएन्जा) का कारण पाँच जनाको ज्यान गएको छ । राराछायानाथ नगरपालिका–१२ बाम गाउँमा मात्र पछिल्लो १७ दिनभित्र पाँच जनाको मृत्यु भएको हो । मृतकमध्ये बालबालिकासमेत रहेका छन् ।

प्रकोप फैलिँदै जाँदा मुगु जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालका अनुसार दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध हुँदा उपचारमा गम्भीर समस्या देखिएको छ ।

स्थानीयका अनुसार सीमित जनशक्ति, औषधि र स्वास्थ्य उपकरणको अभावका कारण अस्पतालले बढ्दो बिरामीको चाप धान्न कठिनाइ भइरहेको छ । यसले गर्दा गम्भीर अवस्थाका बिरामीको उपचारमा जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ ।

मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै स्थानीयले ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।