जनता टाइम्स

९ पुष २०८२, बुधबार २०:४६

राप्रपा र राप्रपा नेपालबिच एकताकाे सहमति, लिङ्देन–थापाद्वारा हस्ताक्षर


काठमाडौं, पुस ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकताका लागि औपचारिक सहमति भएको छ ।

आज राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकता सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सहमति पत्रमा राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता गर्ने निर्णय गरिएको उल्लेख छ । साथै, पार्टी एकताको औपचारिक घोषणा सभा २०८२ साल पुस १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिने जनाइएको छ ।  सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति गरेका छौँ । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

दुई पार्टीबिच भएको यो सहमतिलाई राजसंस्था, हिन्दु राष्ट्र र राष्ट्रिय पहिचानका मुद्दामा साझा धारणा राख्ने सक्तीहरूबिचको एकताको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।