सिन्धुली, पुस १०। सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्केर बुहारीको हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था झनै तनावग्रस्त बनेको हो।
सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन) लाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो । कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।
उक्त घटनापछि आक्रोशित स्थानीयवासीहरू सडकमा उत्रिँदै ढुङ्गामुढा गर्न थालेका थिए। मृतक बुहारीलाई न्याय दिनुपर्ने माग गर्दै भीडले आरोपीको घरतर्फ आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। तर अश्रुग्याँस प्रहारपछि भिड झनै उत्तेजित बनेर हुलदङ्गा मच्चाउन थालेपछि शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।
स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेशअनुसार मिति २०८२ पुस १० गते बेलुका ८ः३० बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्मका लागि कमलामाई नगरपालिका–४ भित्र कर्फ्यु लागू गरिएको छ।
कर्फ्यु क्षेत्रको सिमाना पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुरा बजार चोक तोकिएको छ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत, कुनै पनि किसिमका भेला, जुलुस तथा भेलाजन्य गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। साथै पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने आदेशमा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार घटनापछि स्थानीयस्तरमा शान्ति भङ्ग भई सुरक्षा व्यवस्थामा गम्भीर खलल पुग्ने अवस्था देखिएकाले कर्फ्यु लगाउन बाध्य हुनुपरेको हो। प्रशासनले आम नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
यसैबिच, पेट्रोल छर्केर बुहारीको हत्या गरिएको घटनाले सिन्धुलीमा गहिरो आक्रोश फैलिएको छ। स्थानीयले घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनामा संलग्न सासू र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कर्फ्यु अवधिभर सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता कडा पारिएको प्रशासनले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्