काठमाडौं, पुस ११ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘नयाँ शक्ति’ एक ठाउँमा आउँदै छन् भन्ने प्रचारको कडा प्रतिवाद गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले यस्तो प्रचारलाई ‘अफवाह’को संज्ञा दिनुभएको छ ।
श्रम संस्कृति पार्टी दर्ता गरेर अभियान चलाइरहनु भएका साम्पाङले लेख्नुभएको छ-‘मिडिया ट्रायल गर्न छोड ! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन ! अफवाह फैलाउन छोड !’ उहाँको यो अभिव्यक्ति हालै विभिन्न माध्यममा ‘नयाँ शक्तिहरू एक ठाउँमा आउन लागेका छन्’ भन्ने चर्चा बढिरहेका बेला आएको हो।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जेनजी र नयाँ शक्ति भनिएकाहरूलाई एक गराई दलिए राजनीतिमा आउने तयारीस्वरुप छलफल अघि बढाएको प्रति साम्पाङकाे कडा प्रतिक्रिया आएको हो । उहाँले त्यस्ता अड्कल र प्रचारप्रति स्पष्ट असहमति जनाउँदै आफू कुनै ‘लुकेका एजेन्डा’ वा ‘अनलाइन गेमर शैलीको राजनीति’सँग नजोडिने स्पष्ट पार्नु भएको छ ।
मेयर साम्पाङको यो प्रतिक्रिया नयाँ शक्तिको नाममा भइरहेका प्रचार र सामाजिक सञ्जालको ट्रेन्ड राजनीतिप्रति लक्षित छ। पछिल्लो समय युवापुस्तालाई आकर्षित गर्ने नाराका नाममा भ्रम फैलाउने प्रवृत्तिप्रति उहाँ आलोचनात्मक देखिनु भएको छ ।
धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर चर्चामा आउनुभएका मेयर साम्पाङले यसअघि पनि परम्परागत दल र ‘मिडिया हाइप’मा आधारित राजनीतिप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ। पछिल्लो अभिव्यक्तिले उहाँको राजनीतिक बाटो ‘नयाँ शक्ति’को साझा मोर्चाभन्दा पनि आफ्नै स्पष्ट र अलग धारमा अघि बढ्ने सङ्केत दिएको छ।
मेयर साम्पाङको यो भनाइपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्। कतिपयले उहाँको स्पष्टता र आक्रामक शैलीलाई ‘अफवाहविरुद्धको साहसी अडान’ भनेका छन् भने कतिपयले घमण्डी भनेका छन् ।













प्रतिक्रिया दिनुहोस्