जनता टाइम्स

११ पुष २०८२, शुक्रबार १०:१३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि :  क्रियाशील सदस्यता, अधिवेशनको कार्यतालिका र महाधिवेशनको मितिबारे थप छलफल हुने 


काठमाडौं, पुस ११। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्न लागेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्ना धारणा राखिसक्नु भएकाे छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै त्यसपछि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव राख्नुभएको छ। उहाँले महाधिवेशनको मिति केही दिन हेरफेर हुन सक्ने संकेत पनि गर्नुभएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अघि बढाउन कुनै कठिनाइ नरहेको बताउनुभएकाे छ। तर क्रियाशील सदस्यता नै सबैभन्दा ठुलो चुनौती भएकाले त्यसको टुङ्गो नलाग्दा वडादेखिको अधिवेशन कार्यतालिका प्रभावित हुने उहाँको भनाइ छ।

आजको बैठकमा क्रियाशील सदस्यता, अधिवेशनको कार्यतालिका र महाधिवेशनको मितिबारे थप छलफल हुने जनाइएको छ।