काठमाडौं, पुस ११। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको १५ औँ नियमित महाधिवेशन पुसभित्र सम्पन्न हुन नसकेमा विधान अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा आयोजना गर्नुपर्ने बताउनुभएकाे छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँहरूले विधानले तोकेको समयसीमाभित्र नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन अपरिहार्य दायित्व बन्ने स्पष्ट पार्नुभयाे ।
महामन्त्री थापाले पुसभित्र नियमित महाधिवेशन हुने अवस्था रहेमा विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत प्रतिनिधिहरूको माग स्वतः सम्बोधन हुने अवस्था रहने उल्लेख गर्नुभयो । तर निर्धारित समयमै महाधिवेशन हुन नसकेको अवस्थामा विधानले विशेष महाधिवेशनको स्पष्ट व्यवस्था गरेको उहाँको भनाइ छ ।
‘पुसभित्र नियमित महाधिवेशन हुने हो भने विशेष महाधिवेशन मागकर्ता ५४ प्रतिशत प्रतिनिधिहरूको माग सम्बोधन हुने स्थिति थियो,’ उहाँले भन्नुभयो, ‘तर अधिवेशन नगरेको अवस्थामा अब विशेष महाधिवेशन विधानअनुसार अनिवार्य दायित्व हो ।’
महामन्त्री थापाले विशेष महाधिवेशन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यालयमा छलफल गरी निष्कर्षमा पुगिने जानकारी पनि दिनुभयो ।
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानमा उल्लेखित व्यवस्थाको पालना गर्नु महामन्त्रीकाे मात्र नभई केन्द्रीय समिति र कार्यवाहक सभापतिको समेत साझा दायित्व भएको बताउनुभयो । उहाँले विशेष महाधिवेशनको विषयमा आफ्नो र महामन्त्री थापाको धारणा पूर्णतः एकै रहेको स्पष्ट पार्नुभयो । ‘गगनजी र मेरो धारणा एउटै हो,’ शर्माले भन्नुभयो, ‘अब विशेष महाधिवेशनको स्पष्ट कार्यतालिका बनाउन कार्यसम्पादन समितिमा प्रस्ताव लैजान्छौँ ।’
पार्टीभित्र नियमित महाधिवेशनको समयसीमा र नेतृत्व चयनको विषयलाई लिएर बहस तीव्र भइरहेका बेला महामन्त्रीद्वयको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र र विधान कार्यान्वयनतर्फको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्