जनता टाइम्स

११ पुष २०८२, शुक्रबार १९:०२

संसद् पुनर्स्थापना हुँदैन, निर्वाचन अब अवश्यम्भावी : प्रचण्ड


काठमाडौं, पुस ११ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्नुभएको छ । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचन नै नलडी आफू स्वतः ठूलो हुन सकिन्छ कि भन्ने भ्रममा संसद् पुनर्स्थापनाको कुरा गरिरहेको आरोप लगाउनुभयो ।

 उहाँले संसद् पुनर्स्थापनाबारे फैलाइँदै आएको भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘उहाँहरू न्यायालयमा पनि जानुभएको छ,’ प्रचण्डले भन्नुभयो, ‘तर म तपाईंहरू सबै र यो जनतालाई स्पष्ट भन्न चाहन्छु—कुनै भ्रममा पर्न आवश्यक छैन, संसद् पुनर्स्थापना हुँदैन, निर्वाचन अब अगाडि आइसकेको छ ।’

उहाँले अब सबै राजनीतिक शक्तिहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला आएको बताउनुभयो । नेपाली कांग्रेस र एमाले पनि निर्वाचनमै पूर्ण रूपमा लाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, कांग्रेस र एमाले पनि सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुनेछन् ।’

प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबीसमेत गर्नुभयो । जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम स्मरण गर्दै भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारण देश थप दुर्घटनातर्फ जानबाट जोगिएको उहाँले दाबी गर्नुभयाे ।  ‘निर्वाचन नभए थप अन्योल पैदा हुन्छ, त्यसले देशलाई थप दुर्घटनातर्फ लैजाने जोखिम हुन्छ, अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुनुपर्छ र आम जनतालाई त्यसतर्फ आकर्षित गर्न जरुरी छ’, उहाँले भन्नुभयाे ।