जनता टाइम्स

११ पुष २०८२, शुक्रबार २०:२५

प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा मसाल जुलुस, निकोलस भुसाल तीन दिनदेखि अनशनमा


काठमाडौं, पुस ११। निकोलस भुसालको नेतृत्वमा युवाहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मण्डलामा मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागी युवाहरूले ‘सुशीलाको पाराले दुःख पाए साराले’, ‘सुशीला कार्की नेतृत्वको सरकार राजीनामा दे’, ‘युवाको माग सम्बोधन गर’ जस्ता नाराहरू लगाएका थिए । उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तोष जनाउँदै युवासम्बन्धी मागहरू तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । युवाहरूको मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै दबाबस्वरूप मसाल जुलुस निकालिएको उनीहरूको भनाइ छ ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र युवाका मागहरू सम्बोधन गर्नुपर्ने माग राख्दै निकोलस भुसाल तीन दिनदेखि माइतीघरमा अनशनमा बसिरहनुभएको छ । अनशनरत भुसालले माग पूरा नभएसम्म संघर्ष जारी राख्ने बताउनुभएकाे छ ।

युवाहरूको आन्दोलन, अनशन र प्रदर्शनप्रति सरकारको तर्फबाट औपचारिक प्रतिक्रिया भने आएको छैन ।