काठमाडौं, पुस १२। अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ स्थित जनकम्युनमा प्रहरीले हिजो गरेको सर्चको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ।
आज सम्पन्न पार्टीको स्थायी समितिको बैठकले संघर्षका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रमअनुसार आज पुस १२ गते साँझ देशव्यापी मशाल जुलुस निकालिने छ। त्यसै गरी भोलि पुस १३ गते देशभर कोणसभा, पुस १४ गते विरोध प्रदर्शन तथा पुस १५ गते अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने तालिका रहेको पार्टीले जनाएको छ।
यसअघि प्रहरीले हिजो ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को अर्घाखाँचीस्थित जनकम्युनमा सर्च गर्दा ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सर्चका क्रममा भरुवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चरजस्तो देखिने प्लास्टिकका पाइप तीन वटा, पाँच लिटर क्षमताको प्रेसर कुकर बम एक थान, स्टिलको बम एक थान, बिजुलीका तार चार बन्डल तथा करिब ५०० ग्राम बारुदलगायत विस्फोटक पदार्थ फेला परेका थिए।
घटनापछि सुरक्षा निकायले अनुसन्धानलाई तीव्र बनाएको छ भने नेकपा (माओवादी) ले उक्त कारबाहीलाई राजनीतिक दमनको संज्ञा दिँदै संघर्षका कार्यक्रम अघि सारेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्