काठमाडौं, पुस १२ । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारले सुरक्षाकाे वातावरण बनाएमा सबै राजनीतिक दलहरु चुनावमा जान तयार रहेका बताउनुभएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक छलफलपछि नेपाली देउवाले सबै प्रमुख राजनीतिक दल चुनावमा जान तयार भइसकेको बताएका बताउनुभयाे । शनिबार प्रधानमन्त्री सुशीला कार्की, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले कांग्रेस, एमालेसहित अन्य दलहरू पनि निर्वाचनको प्रक्रियामा सहभागी हुन तयार रहेका बताउनुभयाे । ‘कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दल पनि रेडी छन्,’ उहाँले भन्नुभयो।
देउवाका अनुसार छलफलमा समग्र राजनीतिक अवस्था, निर्वाचनको तयारी र त्यसका चुनौतीबारे गम्भीर समीक्षा भएको थियो। प्रमुख दलहरूबिच चुनाव अपरिहार्य भएको निष्कर्षमा सहमति बनेको र अब त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी सरकारको काँधमा रहेको उहाँको भनाइ थियो। देउवाले निर्वाचन सफल बनाउन सरकारको भूमिका निर्णायक हुने बताउनुभयाे । उहाँले स्पष्ट रूपमा सुरक्षाको वातावरण सुनिश्चित नगरी चुनाव सम्भव नहुने धारणा राख्दै भन्नुभयो, ‘सरकारले सुरक्षाको वातावरण मिलाउनैपर्छ।’
बालुवाटारको छलफललाई आगामी निर्वाचनको राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण भेटघाटका रूपमा हेरिएको छ। पछिल्लो समय चुनावको मिति, संविधान कार्यान्वयन र असन्तुष्ट पक्षको भूमिकालाई लिएर अन्योल सिर्जना भइरहेका बेला शीर्ष नेताहरूबीच भएको यो संवादलाई राजनीतिक सहमतिको बाटो खोज्ने प्रयासका रूपमा अर्थ्याइएको छ।













प्रतिक्रिया दिनुहोस्