काठमाडौं, पुस १२। नेकपा (एमाले) का सचिव एवं काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली राष्ट्रिय राजनीतिमा मूलधारका राजनीतिक पार्टीहरूमाथि, विशेष गरी एमाले र यसको नेतृत्वमाथि केही नकारात्मक पात्र र प्रवृत्तिबाट निरन्तर प्रहार भइरहेको बताउनुभएकाे छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव कार्कीले सिद्धान्त, विचार, कार्यक्रम, संगठन र अभियानका माध्यमबाट पार्टीका गतिविधि सशक्त ढङ्गले अघि बढाउन सके यस्ता नकारात्मक पात्र र प्रवृत्ति आफैँ कमजोर हुँदै जाने दाबी गर्नुभएकाे छ। उहाँले लेख्नुभएको छ, ‘हाम्रो सिद्धान्त, विचार, कार्यक्रम, संगठन र अभियानका माध्यमबाट गतिविधि सशक्त ढङ्गले अघि बढे नकारात्मक पात्र र प्रवृत्ति सूर्योदयसँगै अँध्यारो भागेझैँ चाँडै भाग्नेछन्।’
उहाँले अहिले देखिएका सबै नकारात्मक पात्र र प्रवृत्तिको गठजोड दीर्घकालीन रूपमा टिक्ने खालको नभएको टिप्पणी गर्नुभएको छ। सचिव कार्कीले त्यसलाई ‘नमच्चिने पिङको सय झटका’सँग तुलना गर्दै बाह्य रूपमा ठुलो देखिए पनि प्रभावहीन गठजोडको संज्ञा दिनुभएको छ। ‘अहिलेका सबै नकारात्मक पात्र र प्रवृत्तिको गठजोड नमच्चिने पिङको सय झटका जस्तै हो’ उहाँले लेख्नु भएकाे छ ।
एमाले सचिवको यो धारणा पछिल्लो समय काठमाडाैं महानगरपालिका प्रमुख बालेन्द्र साह, रास्वपा सभापति रवि लामिछाने, उज्यालाे नेपाल पार्टीका कुलमान घिसिङ बिच एकताकाे छलफल चिरहेकाे बेला बाहिर आएकाे हाे । सचिव कार्कीको अभिव्यक्तिलाई एमालेले आफ्नो राजनीतिक लाइन र संगठनात्मक आत्मविश्वासलाई पुनः स्पष्ट रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्