जनता टाइम्स

१२ पुष २०८२, शनिबार २१:४०

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार चयन प्रक्रिया सुरु, अनुशासन कारबाही माफी गर्ने निर्णय


काठमाडौं, पुस १२। नेपाली कांग्रेसले समानुपातिकतर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तय गर्दै नाम छनोट प्रक्रिया सुरु गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बसेको बैठकले पार्टीलाई सुसंगठित बनाउने, आन्तरिक एकता मजबुत गर्ने र संविधानको रक्षा गर्ने राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णयहरू गरेको कांग्रेसले जनाएको छ।

बैठकले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार बनेका, तिनका प्रस्तावक–समर्थक रहेका वा असहयोग गर्दै अनुशासन उल्लंघन गरेका व्यक्तिमाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको छ। यसरी कारबाही माफी वा मिनाहा पाएका व्यक्तिहरूको क्रियाशील सदस्यता निरन्तर कायम राखी सदस्यता नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका व्यक्तिहरूलाई पुनः पार्टीमा फर्कन कांग्रेसले आह्वान गरेको छ। फर्किने सदस्यलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

बैठकले बौद्धिक तथा व्यवसायिक क्षेत्रलाई पनि विशेष आह्वान गरेको छ। विभिन्न पेशा, व्यवसाय र क्षेत्रमार्फत राष्ट्र र जनताको सेवामा सक्रिय लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै विशेष संवाद र सहकार्यका माध्यमबाट अघि बढ्ने निर्णय गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ।