काठमाडौं, पुस १३ । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सुची तयार गर्ने मुख्य एजेण्डा बनाएर आज आइतबार सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिनुभयो ।
एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन,समसामयिक राजनीतिक परिस्थिती र आज प्रधानमन्त्रीले शिर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसुची रहेको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ गते समानुपातिक उम्मेद्वारको बन्द सुची बुझाउने अन्तिम मिति तोकेको छ ।
जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर महासचिव शंकर पोखरेल, सचिवद्वय डाक्टर राजन भट्टराई र भानुभक्त ढकालको टीमले प्राप्त नाम काँटछाँट गरेर छोटो सुची तयार गर्नुभएको छ । छोटो सूचीलाई अध्यक्ष ओली समक्ष बुझाइसकिएको ती नेताको भनाई छ ।
आजको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर निर्वाचन आयोगमा बुझाउने तयारी छ । यसपटक एमालेले जनसंगठनहरूलाई सिफारिसबाटै बञ्चित गरेको छ ।













प्रतिक्रिया दिनुहोस्