काठमाडौं, पुस १३। नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति असफल हुँदै आएको टिप्पणी गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले अनुहार फेरिँदैमा देश नफेरिने तथ्य इतिहासले पटक–पटक प्रमाणित गरिसकेको बताउनुभएको छ । विगतमा नयाँ अनुहारका रूपमा प्रस्तुत गरिएका नेताहरू क्रमशः जनविश्वास गुमाउँदै गएको उदाहरण दिँदै उहाँले लेख्नु भएको छ, ‘ नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ, गगन आए, जवर्जस्त बासी बनाइए, काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए, लोकप्रियताको आडमा बालेन आए- तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ, अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ। ’
बस्नेतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको लोकप्रियता उहाँको स्वतन्त्र छविसँग गाँसिएको थियो। तर विवादित छविका नेता रवि लामिछाने नेतृत्वको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने उहाँको धारणा छ । ‘ बालेनको लोकप्रियता उहाँको स्वतन्त्र छविसँग गाँसिएको थियो, रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ, “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने र जनमत झन् कमजोर हुँदै जाने निश्चितै छ’, बस्नेतको विश्लेषण छ ।
बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसको भोलिपल्ट भदौ २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको बताउँदै यी घटनालाई नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्नु भएको छ । बस्नेतले त्यसमा बालेन र रवि लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूबाट समर्थन देखिनु गम्भीर विषय भएको उल्लेख गर्नु भएको छ । ‘भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए, त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो, यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन्, यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो’, उहाँले लेख्नु भएको छ ।
अबको निर्वाचनको मुख्य प्रश्न अराजकता रोज्ने कि लोकतान्त्रिक संरचना जोगाउने भन्नेमा केन्द्रित हुनुपर्ने उहाँको धारणा छ। ‘अबको चुनावको मुख्य प्रश्न- सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने ? जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ’, बस्नेतको धारणा छ ।
उहाँले समस्या पुराना दलको अस्तित्वमा नभई तिनभित्र देखिएका विकृति भएको उल्लेख गर्दै नयाँ दल खोल्नु समाधान नभएको तर्क गर्नु भएको छ। ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो, रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन, यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनै पर्छ, नत्र नयाँ बोतल पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ’, बस्नेतको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्