जनता टाइम्स

१४ पुष २०८२, सोमबार १३:५१

सङ्खुवासभाको सिलीचोङ–१ गोगोनेमा सामूहिक अलैँची खेती : एक वर्षमा नै १ करोड १७ लाखभन्दा बढी आम्दानी


सङ्खुवासभा, पुस १४ । सिलीचोङ गाउँपालिका वडा नं–१ अन्तर्गत साबिक शिशुवाखोला गाउँ विकास समिति वडा नं–८ गोगोनेमा किसानहरूले सामूहिक रूपमा गरेको अलैँची खेतीबाट उल्लेख्य आम्दानी भएको छ ।

स्थानीय किसानहरूको सामूहिक प्रयासबाट १ सय १९ मन ४० किलो ९ सय ६८ ग्राम अलैँची उत्पादन भएको छ । उत्पादित अलैँची प्रतिमन ९८ हजार रुपैयाँका दरले बिक्री हुँदा जम्मा १ करोड १७ लाख ५३ हजार ८ सय ७५ रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ ।

यसबाट प्राप्त भएको आम्दानी सामूहिक रूपमा किसानहरूबिच वितरण गरिएको छ । स्थानीयस्तरमा सहकार्य र सामूहिक खेतीको अभ्यासले किसानको आयआर्जनमा सकारात्मक योगदान पुर्‍याएको किसानहरूको भनाइ छ ।

सामूहिक अलैँची खेतीलाई थप व्यवस्थित र विस्तार गर्न सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यसले देशकै माटोमा पैसा फल्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।