काठमाडौं, पुस १४। पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते घटित घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित धारणा पेस गर्नुभएको छ ।
सोमबार आयोगमा उपस्थित उहाँले आफ्नो धारणा राख्नु भएको हो । सो क्रममा प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको उहाँले स्पष्ट पार्नुभएको छ ।
आयोगमा धारणा राखेपछि पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो- ‘मैले बल प्रयोग गर्ने कुनै आदेश दिएको छैन, गृह मन्त्रीलाई आदेश दिने कुनै अधिकार पनि छैन, प्रधानमन्त्री वा मन्त्रीले बल प्रयोग गर भनेर आदेश दिन कुनै कानुनी व्यवस्था पनि छैन, भनिएको पनि छैन, त्यो गरिएको पनि छैन’, उहाँले भन्नुभयो ।
भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा कुनै पनि हताहत नहोस् र अधिकतम संयमता अपनाउनु भनि आफूले स्पष्ट निर्देशन दिएको उहाँले बताउनुभयो । ‘भदौ २३ र २४ गते नेपाल र नेपालीलाई मर्माहत पार्ने गरी घटना भएको छ’, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
जेनजीले प्रदर्शन शान्तिपूर्ण हुने कुरा राखेका उहाँले बताउनुभयो । तथापि प्रदर्शनको क्रममा हृदयविदारक घटना भएको लेखकले बताउनुभयो । ‘सुरक्षा समितिको बैठकमा सबै तिरबाट प्रदर्शन शान्तिपूर्ण नै हुन्छ भन्ने आयो’, उहाँले भन्नुभयो ।
सो प्रदर्शन कुनै पनि संगठित आन्दोलन नभएकोले बिचमा घुसपैठ हुनसक्ने भएकोले सतर्क हुन आफूले सुरक्षा अधिकारीहरूलाई जानकारी गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुरक्षा व्यवस्थापनसम्बन्धी निर्णय र कार्यान्वयन सुरक्षा निकायको व्यावसायिक जिम्मेवारीभित्र पर्ने स्पष्ट पार्नुभयो ।
उहाँले जेन–जी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वहरूले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको दाबी गर्नुभयो। सो कुरा प्रदर्शनकारीका आयोजकले नै भदौ २३ गते दिउँसो भनेका उहाँले सुनाउनुभयो । संसद् भवन, सर्वोच्च अदालत तथा आफ्नै निजी निवासलगायत स्थानमा भएको आगजनीलाई उहाँले ‘सुनियोजित षड्यन्त्र’ र ‘लोकतन्त्रमाथिको आक्रमण’ भएको बताउनुभयो ।
प्रदर्शन हिंसात्मक हुँदा आफू मर्माहत भएको र गृह मन्त्री पदबाट राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्रालयको नेतृत्व गरेका कारण पदीय आधारमा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको उहाँले बताउनुभयो । ‘मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यो हुन सक्दैन, हुँदैन’, उहाँले भन्नुभयो ।
उहाँले भदौ २४ गतेको घटना भने राष्ट्र र व्यवस्था विरुद्धको घटना भएको बताउनुभयो । सो घटनमा राष्ट्रिय धराेहरहरु नै समाप्त पारिएको लेखकको भनाइ छ । लोकतन्त्रका सर्वोच्च संस्था माथि नै सो आक्रमण भएको उहाँले बताउनुभयो ।
पूर्वगृहमन्त्री लेखकले आयोगको सिफारिसका आधारमा सरकारले आफूलाई जानकारी नै नदिई तीन महिनादेखि राहदानी रोक्का गरेको र काठमाडौँ उपत्यका बाहिर जान प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाउनुभएको छ । आफूलाई सफाइको मौका नदिई गरिएको उक्त निर्णय ‘विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्त विपरीत’ भएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्