काठमाडौं, पुस १४ । रवि लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी औपचारिक सहमति भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको साक्षीमा दुई पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
दुवै पक्षले नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरू र शहीद परिवारका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई केन्द्रमा राख्दै गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ ।
एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिमा उल्लेख छ ।
संगठनात्मक संरचनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ ।

उज्यालो नेपाल पार्टीको अभियानलाई आत्मसात् गर्दै एकतापछि पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाइने उल्लेख गरिएको छ । उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानी समुचित रूपमा पार्टी संरचनामा समायोजन गरिने जनाइएको छ ।
यस सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि आव्हान गर्ने सहमतिमा उल्लेख छ ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको यो एकतालाई वैकल्पिक राजनीतिक धारलाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ ।














प्रतिक्रिया दिनुहोस्