जनता टाइम्स

१५ पुष २०८२, मंगलवार १९:०७

एमाले अध्यक्ष केपी ओलीकाे प्रश्न : एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?


 काठमाडौं, पुस १५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव नभएकाे बताउनुभएकाे छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक कार्यक्रममा बाेल्दै ओलीले चुनाव अगाडि जसजसलाई प्रधानमन्त्री भाग लगाए पनि चुनाव पछि भने देशकाे प्रधानमन्त्री  एमाले-कांग्रेसबाट नै बन्ने दाबी गर्नुभयाे । उहाँले निर्वाचनअघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिले बाँड्ने गरे पनि निर्वाचनपछि एमाले र नेपाली कांग्रेस बाहेक अन्य दलले सरकार बनाउने सम्भावना नरहेको स्पष्ट पार्नुभयो। ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ, एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’ ओलीले प्रश्न गर्नुभयाे ।

कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष बाँड्ने हल्ला हास्यास्पद र गैरजिम्मेवार भएको उहाँले टिप्पणी गर्नुभयाे। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पदको हल्ला चलाउने व्यक्ति ‘अलि बाठो होला’ भन्ने ठाने पनि देखिएका गतिविधि भने हाँसो लाग्दा भएको बताउनुभयो।

रवि लामिछाने र बालेन्द्र साहबिच ओलीले प्रधानमन्त्री पद बाँडिएको हल्ला सुनेको उल्लेख गर्दै भन्नुभयो, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री बन्ने कुरा त हास्यास्पद भयो।’

अध्यक्ष ओलीले यस्ता गतिविधिको तुलना विगतमा सिंहदरबारमा आगजनी भएको बेला जथाभाबी प्रधानमन्त्री बाँडिएको घटनासँग गर्दै त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री बनाइने जस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद् तत्काल पुनःस्थापना हुनुपर्नेमा पनि जोड दिनुभयो। सरकार बनाउने, हटाउने र टिकाउने अधिकार संसद्कै भएको उल्लेख गर्दै उहाँले असंवैधानिक व्यक्तिले संसद् विघटन गरेर संविधानलाई संकटमा पारेको बताउनुभयाे ।

संसद् पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यसको फैसला चाँडो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘एउटै मुद्दा वर्षौंसम्म बोकेर हिँड्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो।’

अध्यक्ष ओलीले संसद् पुनःस्थापना गरेर मात्रै वर्तमान राजनीतिक सङ्कटको समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो।