काठमाडौं, पुस १५ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका विभाजनकारी, बामविर्सजनवादी र अराजकतावादी प्रवृत्तिलाई निर्णायक रूपमा पराजित गरेको बताउनुभएको छ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक गोष्ठीमा बोल्दै उहाँले उक्त महाधिवेशन एमालेका लागि संकल्प र पुनर्जागरणको समारोह बनेको धारणा व्यक्त गर्नुभयो। उपाध्यक्ष थापाका अनुसार महाधिवेशनले नेतृत्वको पुस्तान्तरण, पुनर्गठन र नवीकरणको नाममा पार्टीलाई कमजोर बनाउने प्रयासलाई असफल बनाएको छ। ‘नेपाललाई विभाजित गर्ने र एमालेलाई टुक्र्याउने मनस्थितिलाई पनि यो महाधिवेशनले पराजित गरेको छ,’ उहाँले भन्नुभयो।
महाधिवेशनले नेकपा एमाले नेपालको राजनीतिमा सबैभन्दा सुसंगठित, व्यवस्थित र जनआधारित दल भएको तथ्य पुनःस्थापित गरेको उपाध्यक्ष थापाको भनाइ छ। उहाँले महाधिवेशनले अपहरित लोकतन्त्र पुनःस्थापित गर्ने, राष्ट्रको अस्तित्वमाथि देखिएको संकटलाई सही दिशामा लैजाने दृढ संकल्प गरेको उल्लेख गर्नुभयो। ‘एमाले सखाप भयो भनेर रमाइरहेका प्रतिक्रियावादी शक्तिलाई यो महाधिवेशनले एमाले रक्तविज जस्तै फैलिएकाे छ भन्ने सन्देश दिएको छ,’ उपाध्यक्ष थापाले भन्नुभयो।
गोष्ठीमा बोल्दै उहाँले दक्षिण एसियामा सुनियोजित रूपमा ‘रंग क्रान्ति’ का नाममा निर्वाचित सरकारहरू अपदस्त गरिएको उल्लेख गर्नुभयाे । नेपालमा भदौ २३ र २४ मा भएका घटनालाई त्यसैको निरन्तरता भएको दाबी थापाकाे छ । उहाँका अनुसार ती घटना कुनै क्रान्ति वा जनविद्रोह नभई जेनजी आन्दोलनको आवरणमा गरिएको प्रतिगमन र प्रतिक्रान्ति थियो।
उपाध्यक्ष थापाले दासढुंगामा मदन–आश्रितको जीप दुर्घटना र भदौ २३–२४ का घटनालाई एउटै षड्यन्त्रको श्रृंखलामा राख्दै ती घटनाका दोषीहरू एक दिन अनिवार्य रूपमा कठघरामा उभ्याइने दाबी गर्नुभयो। ‘त्यो दिन संविधान च्यातिएको थियो,’ उहाँले भन्नुभयो, ‘यसले नेपालमा अभूतपूर्व राष्ट्रिय संकट खडा गरेको छ।’
निर्वाचित सरकार र संसद विघटन गरेर लोकतन्त्र अपदस्त गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उहाँले लोकतन्त्र पुनःस्थापनाका लागि लोकतान्त्रिक र वामशक्तिको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।
नेपालको इतिहासमा निरंकुशतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यबाट मात्र सम्भव भएको उल्लेख गर्दै उपाध्यक्ष थापाले अहिले पनि अपदस्त लोकतन्त्र पुनःस्थापनाका लागि दुई दलबीच सुविचारित रणनीति आवश्यक रहेको बताउनुभयो।
नयाँ संसद वा पुनःस्थापित संसदमा लोकतन्त्रवादी र वामपन्थी शक्तिको बहुमतबाट मात्र लोकतन्त्र र राष्ट्रको अस्तित्व सुरक्षित गर्न सकिने उहाँको निष्कर्ष थियो। संसदीय निर्वाचन क्षेत्रकाे आधा सिटमा लोकतन्त्रवादी र आधामा वामपन्थि शक्तिले विजय प्राप्त गरेभने लोकतन्त्र र राष्ट्रको अस्तित्व स्थापित गर्न सकिने उहाँकाे धारणा छ ।













प्रतिक्रिया दिनुहोस्