काठमाडौं, पुस १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले समानुपातिक प्रतिनिधित्वको मूल मर्ममाथि नै प्रश्न उठ्ने गरी पार्टीभित्र देखिएको प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
समानुपातिक प्रणाली भौगोलिक विकटता, पहुँच र शक्ति नभएका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउनका लागि ल्याइएको भन्दै उहाँले पार्टी नेतृत्वका नजिकका व्यक्ति र ‘भाइटल पोष्ट’मा बसेकाहरू नै समानुपातिक सूचीमा आकांक्षी बन्नु गलत भएको टिप्पणी गर्नुभएको हो।
नेतृ कार्कीका अनुसार समानुपातिक सूचीले विपन्न वर्ग, कर्णाली र सुदूरपश्चिम जस्ता पछाडि पारिएका क्षेत्र तथा गाउँको आवाज बोल्नुपर्ने हो। ‘सूचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ, सूचिले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, सूचिले गाउँ बोल्नुपर्छ,’ भन्दै उहाँले हाल देखिएको अभ्यासले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न खडा गरेको बताउनुभएको छ।
उहाँले पार्टी सचिवालय सदस्य र पदाधिकारीहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’मा रहने अवस्थामा रहेको उल्लेख गर्दै उनीहरू प्राथमिक निर्वाचन (प्राइमरी) वा मूल्यांकन प्रक्रियामा स्वाभाविक रूपमा अगाडि पर्ने अवस्था रहने बताउनुभयो। पार्टीको महाधिवेशन नभएसम्म हालका पदाधिकारी र सचिवालय सदस्य निर्वाचनबाट बनेका नभए पनि पार्टीभित्र पदमा बसेर फेरि समानुपातिक सूचीमा समेत स्थान खोज्ने प्रवृत्ति पुराना दलभन्दा फरक नदेखिएको उहाँको टिप्पणी छ। यस्तो अभ्यासले नयाँ राजनीतिक संस्कार निर्माण गर्ने दाबीलाई कमजोर बनाउने उहाँको भनाइ छ। ‘पार्टीभित्र पदमा पनि बस्ने, निर्वाचनमा पनि समानुपातिक सूचीमा अग्रपंक्तिमा नाम सुरक्षित गरिने प्रवृत्तिले प्राइमरी भोटिङकै धज्जी उडाएको छ,’ उहाँले भन्नुभएको छ।
कार्कीले पार्टीको ‘भाइटल पोजिसन’मा रहेका नेताहरूले प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘पार्टी यति ठूलो भइसकेको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ?’ भन्दै उहाँले सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराए अन्य कार्यकर्ताले कसरी नेतृत्व गर्ने भन्दै प्रश्न उठाउनुभएको छ।
उहाँले उदाहरणीय नेतृत्व स्थापित गर्न सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने स्पष्ट धारणा राख्नुभएको छ। साथै समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग पनि उहाँले गर्नुभएको छ। ‘समानुपातिकले समावेश गराउनुपर्छ, निषेध होइन,’ भन्दै नेतृ कार्कीले पार्टीभित्रको अभ्यास सच्याउन आग्रह गर्नुभएको छ। उहाँको यो अभिव्यक्तिलाई रास्वपाभित्र समानुपातिक सूची र आन्तरिक लोकतन्त्रबारे चर्कँदो बहसको पछिल्लो कडीका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्