काठमाडौं, पुस १६ । सन् २०२५ प्रेस स्वतन्त्रताको दृष्टिले नेपालका लागि अत्यन्तै चिन्ताजनक वर्ष बनेको छ । नेपाल पत्रकार महासंघको अनुगमन अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १ सय ३९ वटा घटना अभिलेख भएका छन् । जसबाट २ सय १८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् ।
महासंघका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटा मात्र प्रेस स्वतन्त्रता हननका घटना अभिलेखिकरण भएका थिए । सन् २०२४ को तुलनामा सन् २०२५ मा हननका घटना झण्डै तेब्बरले वृद्धि भएको देखिन्छ ।
यो वर्ष दुई जना पत्रकारको शंकास्पद मृत्यु भएको महासंघले जनाएको छ । गत मार्च २८ मा काठमाडौंको तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । यस्तै, पत्रकार अजय गोर्खालीको मृत्यु पनि सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइका आधारमा रहस्यको घेराभित्र रहेको आशंका गर्न सकिने नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका अनुसार सन् २०२५ मा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने खालका विभिन्न कानुनी प्रबन्ध अघि बढाएको छ । छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ संशोधन गर्दै कठोर प्रावधान ल्याइनुका साथै फेसबुकसहित नेपालमा चर्चित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई महासंघले अलोकतान्त्रिक कदमको रूपमा ब्याख्या गरेको छ ।
यस वर्ष केही कानुनका कारण संविधानप्रदत्त सञ्चारमाध्यम दर्ता तथा नवीकरणसम्बन्धी हकसमेत केही समयका लागि निलम्बित भएका थिए ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्रै २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको महासंघले जनाएको छ । ती घटनामा एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । भदौ २४ गतेको हिंसात्मक घटनामा विभिन्न सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलामका नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनका विभिन्न सञ्चारगृह तथा सप्तरीस्थित महासंघ शाखा कार्यालयमा समेत आगजनी र लुटपाट गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार उक्त घटनाबाट संस्थागत रूपमा करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ १८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका छन् ।
महासंघको विमतिबीच संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक र सूचना प्रविधि ऐनलगायत सञ्चारसम्बन्धी विधेयकहरू समितिबाट अघि बढिरहेका बेला जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनका कारण संघीय संसद् नै विघटन भएको उल्लेख गरेको छ । समग्रमा आन्दोलन, कानुनी अन्योल, नीति सुधारमा निष्क्रियता, पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा बढ्दो जोखिमका कारण प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको निष्कर्ष छ ।
संविधान उल्लंघन र गैरसंसदीय सरकार गठन भएको सन्दर्भमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा भएको उल्लेख गर्दै महासंघले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् र मुलुक पुनः लोकतान्त्रिक मार्गमा अगाडि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ । साथै निर्वाचनका क्रममा हुन सक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन प्रेस जगत र सरोकारवालालाई आह्वान गरेको छ ।
महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार संरक्षणका लागि निरन्तर पैरवी, खबरदारी र आवश्यक परे आन्दोलनसमेत गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन् २०२६ को अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी र नेपाली जनतामा शुभकामना व्यक्त गरेको छ । आगामी वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेखनीय कमी आओस् भन्ने महासंघको कामना छ ।













प्रतिक्रिया दिनुहोस्