जनता टाइम्स

१६ पुष २०८२, बुधबार २०:१४

रास्वपाको समानुपातिक सूचीबारे एमाले सचिव महेश बस्नेतको प्रश्न : ‘यही हो नयाँ राजनीति ?’


काठमाडौं, पुस १६। नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘नयाँ राजनीति’ को दाबीमाथि प्रश्न उठाउनुभएको छ ।

रास्वपाले सार्वजनिक गरेको समानुपातिक बन्द सूचीमा बस्नेतले व्यापारीका छोरा, नेताका भान्जा, छिमेकी, अन्य दलबाट आएका अवसरवादी व्यक्ति तथा विवादास्पद रूपमा चर्चामा रहेको बारबारा फाउन्डेसनसँग जोडिएकी मोहना अन्सारीसम्म समेटिनुले ‘नयाँ राजनीति’ को मर्ममाथि प्रश्न उठेको उहाँले बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै योग्यता र योगदानको स्थान नातावाद, पहुँच र आर्थिक हैसियतले लिएको हो कि भन्ने प्रश्न गर्नुभएको छ ।

बस्नेतका अनुसार समानुपातिक बन्द सूची समावेशी प्रतिनिधित्व र योगदानको मूल्याङ्कन गर्ने संवैधानिक व्यवस्था भए पनि व्यवहारमा त्यसको उल्लङ्घन भएको देखिन्छ । बन्द सूचीमै नातावाद र कृपावाद हाबी भएमा रास्वपाले आफूलाई फरक र वैकल्पिक राजनीतिक शक्ति दाबी गर्नु अर्थहीन हुने उहाँको भनाइ छ । ‘यदि बन्द सूचीमै नातावाद–कृपावाद हाबी हुन्छ भने रास्वपामा फरक र वैकल्पिक के रह्यो ?’ भन्ने प्रश्न उहाँले उठाउनुभएको छ ।

बस्नेतले देश र जनताको हितको कुरा गर्दै आएको रास्वपाले व्यवहारमा विदेशी शक्तिको सेवा किन र कसका लागि गरिरहेको हो भन्ने प्रश्न पनि उठाउनुभएको छ । उहाँका अनुसार केही पात्रको पृष्ठभूमि र राजनीतिक गतिविधिले राष्ट्रिय हितभन्दा बाह्य स्वार्थ हाबी भएको आशङ्का उत्पन्न गरेको छ ।

बस्नेतले नयाँ पुस्ता नयाँ अनुहारतर्फ आकर्षित हुनु स्वाभाविक भए पनि राज्य सञ्चालन अनुहारले होइन, संघर्ष, संगठन र विचारले हुने बताउनुभएको छ । इतिहास र स्थापित राजनीतिक अभ्यासलाई अस्वीकार गर्दै केवल नयाँपनको नाममा अघि बढ्ने सोच दीर्घकालीन नहुने उहाँको धारणा छ ।