जनता टाइम्स

१७ पुष २०८२, बिहीबार ०९:४९

लाभ र संकटमा मिल्ने र फुट्ने राप्रपा फेरि एकठाउँमा 


-नवराज पथिक-

काठमाडौं, पुस १७ । गुट, फुट र विभाजनको लामो इतिहास बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि एकपटक ‘एकता’को घोषणासहित एउटै मञ्चमा उभिएको छ।

पूर्वपञ्चहरूको पार्टी भनेर चिनिँदै आएको राप्रपा र राप्रपा नेपाल हिजोबाट औपचारिक रूपमा पुनः एक भएका छन्। धेरैले यसलाई राजनीतिक आवश्यकता ठानेका छन् भने कतिपयले पुरानै ‘एकता–विभाजनको चक्र’ दोहोरिएको रूपमा हेरेका छन्।

काठमाडौंमा आयोजित एकता सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले अंकमाल गर्दै दुई दलबीचको दूरी समाप्त भएको घोषणा गरे। मञ्चमा देखिएको दृश्यले पार्टीभित्रको लामो खटपट अन्त्य भएको सन्देश दिन खोजे पनि राप्रपाको इतिहास जान्नेहरूका लागि यो दृश्य नयाँ भने थिएन।

एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा सधैँ कमल थापाको अभाव महसुस भइरहेको बताउँदै दुई पार्टी एक हुँदा सबैभन्दा खुसी आफू भएको प्रतिक्रिया दिनुभयो। ‘अब हामी एउटै झण्डामुनि अघि बढ्नेछौं,’ उहाँको भनाइ थियो। लिङ्देनको अभिव्यक्तिले व्यक्तिगत सम्बन्ध र संगठनात्मक आवश्यकता दुवैलाई एकैपटक सम्बोधन गर्न खोजेको देखिन्थ्यो।

६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपा नेपाल औपचारिक रूपमा राप्रपामा विलय भएको हो। सहमतिपत्रअनुसार राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भई पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ। त्यस्तै, सहमतिका आधारमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू राप्रपाको केन्द्रीय कार्यसमितिमा रहने व्यवस्था गरिएको छ।

संगठनात्मक संरचनामा पनि समायोजनको प्रयास गरिएको छ। राप्रपा नेपालसँग आबद्ध विभिन्न संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाका सम्बन्धित भ्रातृ संगठनहरूमा ‘सम्मानजनक रूपमा’ समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ। यसले विगतमा एकतापछि देखिने असन्तुष्टि र पदको विवादलाई केही हदसम्म सम्बोधन गर्ने प्रयास भएको संकेत गर्छ।

एकता कार्यक्रममा बोल्दै कमल थापाले राष्ट्रवादी धारका सबै शक्ति एक ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी निर्वाचनमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्न आफूहरू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। थापाको भाषणले राप्रपाको राजनीतिक भविष्यलाई चुनाव केन्द्रित बनाउने रणनीति स्पष्ट पारेको देखिन्थ्यो।

तर राप्रपाको इतिहासमा फर्केर हेर्दा, गुट, फुट र पुनःएकताको यो कथा नयाँ होइन। २०४६ सालको जनआन्दोलनपछि बनेको राप्रपा पञ्चायतकालका प्रभावशाली हस्तीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको थियो। पार्टी बनेको केही समयमै उहाँहरूबीच विभाजन भयो। विभाजनकै बीचमा दुवै नेताले बहुदलीय व्यवस्थाभित्र प्रधानमन्त्री बन्ने अवसरसमेत पाउनुभयाे।

राजतन्त्र र हिन्दु अधिराज्यलाई मूल राजनीतिक एजेन्डा बनाउँदै आएको राप्रपाले यही संविधान र व्यवस्थालाई स्वीकार गर्दै आएको तथ्य पनि आलोचनाको विषय बन्दै आएको छ। बहुदलीय व्यवस्थाका सबै लाभ लिने, सत्ता र प्रभाव मिल्दा एक हुने र लाभ नहुँदा फुट्ने प्रवृत्तिले राप्रपाको राजनीतिक चरित्रमाथि पटक–पटक प्रश्न उठ्दै आएको छ।

यसपटकको एकता राजनीतिक परिपक्वताको संकेत हो कि आगामी चुनाव केन्द्रित रणनीतिक समझदारी मात्र हाे, यसको उत्तर भने तत्काल पाइँदैन। राप्रपाको इतिहासले सिकाएको पाठ के हो भने, यहाँ ‘एकता’ स्थायी भन्दा पनि समयसापेक्ष हुने गरेको छ। अहिले देखिएको मिलन कति टाढासम्म टिक्छ र यसले राप्रपाको राजनीतिक हैसियत कति बदल्छ, त्यो अन्ततः समयले नै देखाउनेछ।