बिराटनगर, भदौ २२ । भाइरल बन्नका लागि जे पनि गर्ने प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरूको शैलीले निर्दाेष नागरिकले यातना पाउन थालेका छन ।
प्रधानमन्त्री बालेनका देश बनाउने टीमका मुख्य सदस्य गृहमन्त्री सुधन गुरुङको कारण प्रहरी समेत दिग्भ्रमित बनेर धमाधम निर्दाेषलाई पक्राउ गरी सार्वजनिक चरित्र हत्या गर्ने र सार्वजनिक जीवन नै सकाएर छाडिदिने काम गर्न थालेको हुँदै नभएको घटनामा दुई निर्दाेष युवकको पक्राउ र रिहाले देखाएको छ ।
घटना बिवरणअनुसार विराटनगरको व्यस्त बजार महेन्द्र चोकमा बाटो काट्दै गरेका किशोरीलाई मोटरसाइकलमा सवार दुई युवकले हातले इसारा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोको आधारमा उजुरी र जाहेरीबिनै मानिस समातेर थुन्ने नीतिका गृहमन्त्री सुधन गुरुङ रहेको भन्दै प्रहरीले त्यही भिडियोको आधारमा दुई युवालाई समातेर यौन दुब्र्यवहारको आरोप लगायो ।
स्कुल ड्रेसमा रहेका किशोरीमाथि दुव्र्यवहार गरेको भनियो । भिडियो भाइरल भएपछि प्रहरीले विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई पक्राउ गर्यो ।
युवक पक्राउ परेपछि घटनाको वास्तविकता सामाजिक सञ्जालमा भाइरल भए जस्तो नरहेको देखियो । पक्राउ परेका युवकले प्रहरीसमक्ष किशोरीहरूलाई जेब्राक्रसबाट बाटो काट्न भनेको तथ्य सुनाए भने दुई छात्राले पनि आफूहरूले दुव्र्यवहार महसुस नगरेको सार्वजनिक घोषणा गरिदिए । यतिबेलासम्म प्रहरीले यौन दुब्र्यवहारमा पक्राउ भनेर दुवै युवाको नाम सार्वजनिक गरिसकेको थियो ।
यो घटनाले भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा फैलने भ्रम र निर्दाेष फसाउने खेती मौलाएको भन्दै प्रहरीको भूमिकामाथि नै प्रश्न उठेको छ । सामाजिक सञ्जालमा फैलिएको भ्रमकै आधारमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीले आलोचना भयो । किनकि, भिडियोका विषयमा प्रहरीमा जाहेरी परेको थिएन ।
सामाजिक सञ्जालमा आलोचनापछि प्रहरीले पक्राउ परेका युवकहरूलाई दुई दिनपछि छाडेको छ । ‘प्रहरीले आफ्नो सक्रियता देखाउन पक्राउ गरेर वास्तविकता नबुझी हतारहतार दुई दिन म्याद थप गर्यो । त्यहाँ दुव्र्यवहार भएको थिएन, उजुरी पनि परेको थिएन, बिना कारण बदनाम गरियो ।
के हो भाइरल भिडियोको वास्तविकता ?
सामाजिक सञ्जालमा भाइरल भिडियो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका सचिवालय कर्मचारीले बुधबार बिहान खिचेर सार्वजनिक गरेका थिए । भिडियोमा जेब्राक्रस नजिकै सडक पार गर्न लागेका दुई स्कुले छात्रालाई मोटरसाइकलमा सवार दुई युवकले हातको इशाराले केही भनिरहेको देखिन्थ्यो ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुईथरी मत देखिए । एक पक्षले ती युवकहरूले छात्राहरूलाई अभद्र व्यवहार गरेको आशंका गर्दै कानुनी कारबाहीको माग गर्यो, अर्को पक्षले उनीहरूले सडक सुरक्षाका विषयमा सामान्य सुझाव मात्र दिएको दाबी गर्यो ।
सामाजिक सञ्जालमा अभद्र व्यवहार गरेको भन्दै दबाब बढ्दै गएपछि मोरङ प्रहरीले शुक्रबार घटनामा संलग्न महेश र अखिलेशलाई नियन्त्रणमा लिएको थियो ।
दुवै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा तीन दिनको म्याद थप गरी प्रहरीले आफ्नो सक्रियता देखाउन आँखा छोपेर फोटोसहितको विवरण सार्वजनिक गर्यो । प्रहरीले विज्ञप्तिसहित पक्राउको विवरण सार्वजनिक गरिदियो ।
प्रहरीले युवकहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहँदा पीडित भनिएका किशोरीले भने सामाजिक सञ्जाल प्रयोगकर्ता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाए । आफूहरूमाथि कुनै अभद्र व्यवहार नभएको उनीहरूको भनाई थियो । त्यसपछि प्रहरीले पक्राउ परेका दुई जनालाई आइतबार आफन्तको जिम्मा लगाएको हो । तर प्रहरी आफ्नो ब्यावसायिक छवी नै समाप्त हुने घटनामा समेत गल्ती महसुष गर्नुको साटो जेब्राक्रसबाट बाटो काट भन्ने अधिकार नागरिकलाई नभएको भन्ने कुतर्क गर्न थालेको छ ।














प्रतिक्रिया दिनुहोस्