जनता टाइम्स

१७ पुष २०८२, बिहीबार २१:२७

विष्णु पौडेलले बासुदेव घिमिरेलाई पार्टीमै फर्काए, ‘हामी सँगै’ भन्दै तस्बिर सार्वजनिक


काठमाडौं, पुस १७ । केही दिनअघि नेकपा (एमाले) परित्यागको घोषणा गर्नुभएका बासुदेव घिमिरे पुनः पार्टीमै फर्किनुभएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले घिमिरेलाई स्वागत गर्दै पार्टीमा पुनः समावेश गराउनुभएको हो।

उपाध्यक्ष पौडेलले घिमिरेसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘हामी सँगै’ लेख्नुभएको छ। उक्त तस्बिर सार्वजनिक भएसँगै एमालेभित्र देखिएको एक असन्तुष्टि औपचारिक रूपमा टुङ्गिएको सङ्केत गरिएको छ।

नेकपा (एमाले)का नेता तथा रुपन्देही–५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसदसमेत रहनुभएका घिमिरेले केही दिनअघि पार्टी छाड्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा विभिन्न टिप्पणी र प्रतिक्रिया आएका थिए। त्यस क्रममा उहाँले आफू आबद्ध पार्टी एमालेको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गर्नुभएको थियो।

तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहनुभएका घिमिरे एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित हुनुभएको थियो। त्यसपछि पार्टीभित्र अपेक्षित भूमिका नपाएको असन्तुष्टि उहाँमा देखिँदै आएको बताइन्छ।

घिमिरेले पार्टी परित्यागको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटसमा पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकका आमजनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभएको थियो। सोही असन्तुष्टिका कारण आफू पार्टीको जिम्मेवारीबाट अलग भएको उहाँको भनाइ थियो।

तर पार्टी नेतृत्वसँगको संवाद र छलफलपछि घिमिरे पुनः एमालेमै फर्किन सहमत हुनुभएको हो। उहाँको पुनरागमनलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ भने नेतृत्व तहले आन्तरिक असन्तुष्टि संवादमार्फत समाधान गर्न खोजेको सन्देशसमेत दिएको विश्लेषण गरिएको छ।